क. कमजोरी हुन्दुःखकी बहिनी, श्रमकी छोरी ! दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु फींज सोहोरी, विधिले रचे रे कमजोरी ! इन्द्रधनुषको रङ्ग क्यै जोरी ! साँवली छन्, छैनन् गोरी ! तैपनि छन् फेनील हुरी ! ख. गुलाफ बागमा यस मासुको, गोधूलिमा, मूल परीकन, जन्मिन् मोरी ! अलसाइँले गोद लिइन् तब, गाला जोरी ! क्षुधा र तृष्णासँग ती खेलिन् भग्न मनोरथहरुका वनमा । मध्यरातमा बैंसे भइछन् प्रथम श्रापकी उम्दा छोरी । कविसँग जिस्किन्, तिर्छी हानी । कस्ती उत्ताउली ती मोरी ! ग. आँखा खोली अनगिन कोटी, ढल्की बादल भुवामा लेटी, कविता गर्न बसिथिन् रजनी कागतजस्तो फिंजाई अवनी ! उनकी प्रतिभा मुस्किरहिथिन्! केही टटोली चट्ट उँगी छन् ! मुखी ढाकी छन्! कालो मसी सब ख्वात्तै पोखी ! थाकी छ्न् ती नरम सिरकमा छाती जोरी ! यस्तो गर्छिन् बराबर मोरी ! कमजोरी, ती श्रमकी छोरी ! घ. घनश्यामा छन्, दृग लामा छन्। जादूकेशी ! वयसी, अयसी, नशाकी महिषी, कालो–मुलायम–मखमल–वेशी ! मुसमुस अत्तराउँछअ तिनको साँझमा बेसी ! ‘इविनिङ पेरिस्! ’ थकित जगत्को त्यसमा के रीस ? तर निशिजागा कविकी मस्ती, सीताजस्ती, देख्छे रङ्गीबिरङ्गी तोरी ! सम्मोहनको लहरी हान्छिने जब ती मोरी ! ङ बसिरहेछु, कलम ली घोरी ! फुत्की, भाग्दछु, उड्दछु भन्छु । कल्पनाका पङ्खमा लाउँछिन् मसिनो जाली, रेशम डोरी ! बोक्सी मोरी ! उल्टो जीवन–वीणाका सब तन्त्री बोल्छन् तन्त्री रुन्छन्, टूट–स्वरमा, झकझक, झुनझुन, प्रभावले नै आफै सोरी । स्वर, स्वर बुन्छन् उँगको जाली ! शीमल कोमल तकियाहरुका गालासँगका प्यारहरुका कथा–रुमानी, मीठा हाली । “शान्ति धनी छ” गाउँछिन् नानी । “स्वर्ग के हो ?” बुझिरहेछन् छटछट प्राण हिमानी ! विश्व–शाल्मली फूल–गुल्जार छ ! भन्छ पवनले “निदभर ढुँटे, आखिर बादल–तकिया, शीमल –फूवभुवा नै स्वर्गको सार छ ! ” शीमल बादल ! लम्बनलेऔ अवलम्बनले प्यासका तारा जब गुम पार्छ, असङ्ख्य धनकोतब पो सार छ ! निद्राधनी क्या अवाक्रहन्छन्, भाषा तिनको क्या लाचार ! खोजहरुको पर त्यो हेर ! क्या संसार छ ! क्या संसार छ ! मानवता छ भावुकतामा मेरो सुृन्दरता हेरी, अल्सारनुमा, निदाउनुमा नै आँखा जोरी ! दिनभर, दिनभर पत्थर फोरी, आत्महत्या गर्छौ कवि किन ? दृष्ट जगत्मा प्यासले मोरी, माथा फोरी, कागज कोरी ! ......... सूनसानको दौलत हेर ! आँखा जोरी !” उँग लागेछ ! झस्की उठें तब ! “गडबड नगरन ! ” भन्दै, “कस्ती उत्ताउली भएकी तिमी ? ए मोरी” च. कलम समाएँ..........खेल्थे नाजुक औंलाऔंली तरङ्गजलमा, चोपलचापल साथ उँगौली ! “औंली बसौली, अलि तल जौली, बयौली, झल्को उठौली, औंली ।” छ. दुःख यो रण हो ! दुःख यो रण हो ! जागरण नै मूक मरण हो ! गाउन लागिन्, ताना छोडी । मुस्की मोरी ! ज. तरबार फुकेर सिपाही मरेझैं कलम गयोरी ! गयोरी ! कस्तो छोप्ने जादू तिनको ! चोट बिर्से युद्धमरणको आँखा चिम्ले, सन्चो भो सी ! झ. मिलजुल स्वरमा तब अब बोलें । “हारहरुका हार चढाएँ ! लेऊ मोरी ! खुट्टा मिच लौ, खुट्टा पसारें सासुकी छोरी ! सौता कविता रिसाई गइन् अब, सुन्दरी गोरी, मगजै छोडी ! आँशु उनका, प्यास तिमीकन झ्याप्प निभाऊ चेतन मोरी ! अमरत्व गरीब छ, दुःखी जीव छ ! मरणै धनी हो ! मरणै मीठो री” !