छाती चिरीकन पृथिवीको दूध चुस्छन् मानिस, दुहुने मै हुँ । धूप झरीमा आत्मा परिशुद्ध बर्ख यी तनी बीस नहुँदो भौँ हुँ ! श्रृङ्गार हिलो, नङ्गा फिलो, आँखा चमचम, आदिम खनुवा, शरीर शिला र कलेजा गिलो चिथरा सिमसिम, एकलो मनुवा । धान धापमा रीप छ टापू, कुहिँदो छाना, पत्थर सिरान, तीन पुस्तातक बन्धक आफू पितृ नाना, बन्धक चिहान । सम्पत् पित्तलको यो थाली, हाँडी काली, गोल्फू, घैँटो, धुजारु दौरा झिलमिल जाली, चिथ्रे डाली, गोबर गुँइठो साथी भन्नु कानो कुक्कुर, लुते घाँटी, उपियाँदार । मालिक भन्दछ कुइँकुइँ थुरथुर, भुक्तछ छ राति, धन–रखबार । विवाह स्वपना सरि झैँ पर भो, वायुको बीज, टिप्ला काक, पृथिवी फलाएँ, अरुको घर गो, बलि हो एक चीज, ईश्वर अवाक् !