क. के बोल्छे यो जुरेली ? सगरभरभुवा आँसुका बान्किला छन्! राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं भङ्गिला छन् ! रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर ! चिर्छे एकान्तलाई पिउ पिउ स्वरले, गीतले चित्त चोर ! ख. सारा शब्दार्थ घोली अमृत–मथनले विश्व–भाषा बनाई, स्पन्दी, छन्दी, उछाली, सकल हृदयका्े वेदनानन्दलाई, कोपी खोलेर बोल्छे, सजल मृदुलता, सूक्ष्म बास्ना बहाई ! के, के, के, खल्बल्याई दिलदिल ! पृथिवी भावगोला तुल्याई ! ग. बास्नाले फूल बोल्छन् यति, ज्वलनमा प्यास रङ्गीन वाणी ! यै हो गाना उडेका रुदित भ्रमरको, जिन्दगीको कहानी ! वाणी छोटी यही हो प्रकृति–पुरुषको ! गुन्जिदो यो जवानी ! यो हो थोपा, निचोर श्रुति, रस कविको प्यारको फूलदानी घ. पानीको कल्कलाई जलनिधितिरको यो दगुर्दो रुलाई ! यो हो बोली निशाको शशधरतिरको, शीतको पिल्पिलाई ! फिर फिर हो पुतलीको छवितिर, छविको पुतलिमा ढलाइृ ! माटाको भित्र बोल्दो बुलबुल मुटु हो, सम्झिदो स्वप्नलाई ! ङ. छायालाई अँगाली छवि छ जलदृशी ! सम्झना शून्यलाई ! केही,काहीं भएको, तर सँग नहुँदा क्यै पिरल्दो मलाई ! ‘आ ! आ !’ भन्दो झझल्को, अमिट कठिनता कल्पनाको छुआई ! छाया गाडा बिझेको, कणकण चसकी, खालि रुँ रुँ जिलाई ! च. राम्री सृष्टि, प्रकृति अथवा खूवङ्गार पारी,श्रृङ्गार पारी पर्खी, झुक्दै चलेकी, प्रियतम नमिली, दृष्टि मार्गभिसारी, रुन्छे कोही थलामा मनमन गहिरो,आँसुको बाफ पारी, भाषाभन्दा परैका ध्वनि त्यस दिलका गुँज्छ पन्छी, फिजारी ! छ. रुन्छ रानी जवानी सब युग, थलका, धोइ एकान्तलाई ! माटो फोरेर आत्मा मुखरित छ, जिती पुष्पको वासलाई ! यो हो माधुर्य के को ? – पिउपिउ रसको, मृत्युमा अमृतलाई ! बोल्! बोल्! मिठो जुरेली ! म पनि सँग बगें अर्थ पारी, रमाई ! ज. कोपी खोल्ने क्रिया हो जलकण भरिने कुँदनु यौटा कटौरा, जो फुल्छन् फूल रुन्छन्, दिलभर जलका विन्दु झल्केर बौरा ! पन्छी यो, व्यक्त गर्दो कुसुम–हृदयको वेदनाको जवाफ, दोटै आवान फाली, दुख सुख सुकला विश्वको चाल्छ साफ ! झ. मोटोले स्पन्द पाई, किरणसँग जहाँ प्यारको भो प्रसूति, भाषा खोज्दै उठयो त्यो तृण, कुसुम भई, गाउंदै अश्रुगीति, पन्छी भै त्यो छचल्क्यो श्रवणविवरमा, वेदना बोल्छ साफ ! भाषा हो काल सारा बिउँझिनु दिलमा–दिव्य बक्सीस, श्राप ! ञ. ‘पी पी’ हो शब्द पैलो, अमुखर दिलको, जन्मिदा प्यास, पानी ! भाषा या प्यारको हो ! विधु गगनसिखा, भूचरी कल्पिंदा नि ! तान्छिन् शोभा निचोरी दिलउपरतिरै—बोल्न लागी जुरेली, पृथ्वीको जन्मदेखिन् अझतक जति छन् बोल्दछे क्या पिरोली ! ट. ऊषा रुन्थिन् पियासी, मखमल फुलमा अङ्ग गोरा बटारी, स्वप्ना भारी पुकारी, उदयविरहिणी, स्वर्ग गुम्दी, विचारी, रुन्थे सारा फुलेका कुसुम वनभरी, वाणपुत्री निहारी, तैंले होला सिकेको विरहुसुर त्यहीं, बोल्न पन्छी पियारी ! ठ. फुल्दा, सेता बदामी कुसुम झरझरी झार्दथे मिष्ट झोका रोका आँशू खसाली बरबर उरमा, जूनले जल्पिएका, राधा बन्दी कसैकी मनमन, वयसी दिव्य संयोगिताले एकान्ती गुन्गुनीमा दृगजल उछलिन् बुल्बुली यै टुनाले ! ड. जल्पीथिन् जानकीले मनमन सुर यी, रामजी कल्पिएर, वंशी बज्थ्यो यसैमा टिरलिर यमुनाकूलमा कल्किएर ! हेलेन् होलिन् रुँदी यी दुखमय सुरमा, प्यारि पारी विषाद, वर्षाई वेदनाका अति सुषम कणी,—युद्धका बाफ वाद ! ढ. सोला हो, स्वादु सोला, अतिशय दुखको सौख्य यो हो पिरोला ! गोला, मीठो, अबोला, बहन दुध भए, प्राप्ति बैकुण्ठ होला यो चोलाको सुनौला जलप, रस यही, धाम गौरी र भोला ! पी पी बोल् रे जुरेली ! हृखय हृदयको बोल्छ संस–गारेला ण. यो कोपीको सुहानी जललव, रसको जिन्दगीबीच नानी ! यो तिर्खाको छ वाणी, प्रकृति–पुरुषको यो पुरानो कहानी ! यो हो दर्दी जवानी, प्रणय मुखरिंदो, गीतिकी रानी ! यो चूली हो हिमानी, शरण जगतको, भित्रको ढुक्ढुकानी ! त. झुक्लिन् छाया अँध्यारी सघन गगनकी, वर्वरी वर्ष वर्ष ! झिल्केली है बिजूली, क्षण क्षण मनमा सम्झनाबाट पर्श ! थोपा झर्लान्, सिहर्ला्न् तरुवर, लतिका ! वायु बोक्ने छ बाफ ! चल्ला यस्तै जगत्‌मा ! हृदय पिरलिंदै आउलान्यै विलाप ! थ. छाती, छाती पुकार्लान् ! जल, जलकणिका बैंसले बैंसलाई ! प्यासी बोल्लान्, छिचोल्लान् समय र पिंजरा, गीतमा बग्न पाई ! घाँसी बाला छहर्लिन् हृदयजल कहीं, चम्चमाई हँसिया ! उक्लेका क्वै, सुसेली नव–सपना,दिल श्री पुकार्दो घँसीया ! द. बोल्! बोल्! बोली सुरीलौ, पिउ पिउ नित हे पिंजराकी जुरेली, बोल्छन् यै वेदनवाणी–अतिसुषम उषातर्फ आत्मा पिरोली, जूनेली ज्योति जेली हृदयभर यही, थोर संकेत खोली, प्यासी बोलें म आफैं ‘पिउ’ अरथविना मृत्तिका क्यै छिचोली !