क. भूतकालका भूलहरु छन् ! शूलहरु छन् ! क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ ! स्थितिमा थिचो र मिचो छ ! छाती ठोक ! तर, दम रोक ! ‘जित्नु छ’ यत्ति घोक ! तिम्रा मुखमा बादल लागे हाँस्ला कसरी फेरि लोक ? दिल रोएको अरुले सुन्लान् ताल्चा मार ! नउघार ! आँशु पिईकन, मुस्की गर्नु छ ! यत्ति विचार ! यत्ति विचार ! ख. मरे शरापी कैयन् पुस्ता, झार पहेँला जस्ता, यी शोषक, यी बाधक, वेधक, सशस्त्र राकस रुखलाई ! जसको छाया चिसो, कालो, जल्ले छेके उज्यालो ! कसले गन्ला यी अतिभक्षक —हरुले दिएको दुःखलाई ! बूढा, पुराना कीटहरुका घर ! जर्जर ! मकाइरहेछन् भरखर ! तर, तर, गहिरो, गहिरा जरा छ, विस्तृत, विस्तृत, शोषिरहेछ भूमि उर्वर ! शकिन्न भन्ने निराश नधार ! माली ! जमीन सुधार ! उत्तम बोट उमार ! ग. धेरै मर्छन्, थोरै बाँच्छन् ! ठूलो माछा न्यायाधीश छ, थोत्रो घरका बलिया खम्बालाई लान त ! तिम्रो, मेरो यसमा रिस छ ! घूस खाई क्रान्ति मरी सब ! पूँजी पिस्छ ! हाम्रो जीवन दिनदिन दुःखको चक्की घिस्छ ! यो जिउनुमा ढीलो विष छ ! सुधन्न भन्ने कति मोटाए, वन–शूकर ! सुध्रन्छ भनीकन दुब्ला बन्दा, भोका हामी, लड्दा हामी खाइरहेछौं ठोकर ठोकर ! हामी भू–सर ! यो त्यही दुनियाँ हो हे साथी ! जल्लाई भन्दछन् अरु ती अन्धा, सुन्दर, सुन्दर ! घ. खडबड, खडबड, गडबड, सडकमा कानो ड्राइवर ! घजघच थर्थर, जर्जर मोटर ! दम खुस्केको ढीलो पाङ्ग्रो ! मिचिने गरीब ! यही हो हाम्रो नसीब ! ङ. अधमराको यस नगरीमा ह्वाँह्वाँ छ ! दुनियाँका सब पापी जन्मी, तरिरहेछन् वैतरणी मिठयाइरहेछन् मुख तर कोही तिनको स्वर्ग यहाँ छ च. जादूगरको हातले फार्नु छ, यो कुइरो ! लम्पा एउटा घोटुँला ! निस्कून् डकम्र्मी धुइरो ! छ. चढाऊ निरन्तर ! चढाऊ निरन्तर ! पसिना छ ! हिउँ पनि झर्छ ! असिना छ ! सारा क्षण तर शहीद बनाऊँ ! विज्ञापन पो कमिना छ ! पलपल मृत्यु मीठो हुन्छ ! विजयाभ्यास जहाँ छ ! ज. मानवजति ! मानजातिमा ! हाउ ! नओर्लोस् ! उक्लोस् माथि ! दिनराति ! हामी मर्नु छ ! उसको जिउनु कति जाती ! झ. मध्यरातमा पुतली, पुतली, बत्तीवरिपरि नाची, नाची, मृत्यु डरायो, साथी ! धरामा तिनका जलेका पखेटा साँची सभ्यता भै यस्ती धनी रे ! निराश क्षणमा मन मुटुलाई ! “मृत्यु अमृत हो ! चल् लाछी !” ञ. हो, हो ! सत्यले कदर नपायो ! मिथ्या भायो, थितिले विष नै फायो ! सत्ययुगमा पनि सङ्घर्ष थियो, त्यही डाक्टरले, औषधिपत्र लेखायो ! ट. बाङ्गा, टेढा हर छन् हाम्रा ! हावा, पानी, किरण कमी ! ठुला नहुन् तर पूmल छन् हाम्रा ! स्वदेश–सुगन्ध ! सुँघन गमी ! जिउँदा, ताजा, बीज छन् राम्रा ! उम्रे केही, माटो फाटी ! फस्टिरहला पूmलजाति ! ठ. मृत्यु भनेको सानो निद्रा, एक थकाइ ! हामी मुक्ति चाहन्नौं रे ! बिउँझी आउँला ! बिउँझी आउँला ! नधकाई ! ड. चट्टान–चिरा, पर्वतढलका, हामी जलका, हूल हूँ बलका ! हाम्रा धावन–सङ्गीतहरुले, पगला पगला युग, युगमा हे साथी ! मचाइरहलान् दिव्य तहलका ! ढ. विश्वरथका हामी तनुवा ! लड्दा, बढ्दा ! छुट्दा, भरिँदा ! अमर, अनि, श्रमी, मनुवा ! ण. परिस्थिति यो गरीब हुनाले हामी धनी ! स्वर्ग बनेको छँदै छ गरीब ती देउताहरुकन ! साहाराका माली हामी ! हाम्रो बनाउनु यो तल्लो महामरु रे अवनी ! त. शून्यलाई हाँक्नु छ आज ! जङ्गली सब हाँस्नेछन्, तर हामीलाई केको लाज ? भनिदेऊ हामी ईश्वर हुँ ! कल्पी, शिल्पी, गरिरहेका हात, अगोचर, अज्ञात ! व्यापक विराट् ! कुइरा उपर तर हेर उडेका सफेद चराहरु, हाँसी खिल्ल ! किनकि, फिलिङ्गो स्वर्गको टिप्न ती उड्दा छन्— शुन्यमा ती किन उड्दा छन् ? दुनिया जिल्ल !