क. आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी ! उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि ! नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी ! ख. सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला ! विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला ! अतीत–कारागत सब आत्माहरुको क्रन्दन फोई नाच् रे खण्डित कृष्ण घनमा, इन्साफ मागेर रोई ! चम्की ! झञ्झकी हे आत्मा ! सुत्छ मनुज अँधेरी रातमा ! भाइ भुल्छ भाइ आज ! विषम थितिमा यो समाज ! चल्दो छ धूलिई, मासी ! ग. लङ्का सल्क्यो ! सुन्दर विलपी ! रुद्रभृकुटीज्वाला ! क्रान्ति उठ्छ मनुज थिचिंदा, हुरी ! मै विषम–चाला ! जर्जर आडम्बरका विटप खडा छन् अझ रे काला ! छन् अँधेरी–सेज–स्वपित मरेका हृदयवाला ! जाग् रे ! वायुबघिनी ! गर्जी रे ! झञ्झाकी काली ! मानव अझ छ मानवान्ध ! आँखामा डालेर जाली ! सडल जगत् जा बढारी ! जर्जर दलका दल ! मानव दानवहरुका कृतिले, अझ छ बगाउँदो भल ! धूलीदलका छाया–लहर बढार्दै भूतका राशि ! आ ! फिंजारी घनका झाँक्रा सगर सागर गाँसी घ. कुपित सृष्टिकार सपना ! दिव्य दण्डकी हावा ! हे बेरोक ! पगली शक्ति ! असत्यको बोल् तँ धावा ! क्या विलासी सुरको भवन प्रलय छायाले छायो ! ङ. नाची नागिनी बिजुली ! स्वर्गले डसिई, क्रन्दन गायो ! नर–भविष्य बदलीमा छ ! निफन्दे सृष्टिको डाली ! ढुक्क रहेको शोषण–मुटुमा मृत्युको असिना फाली ! ध्वंसिनी ! हे ! तेरा क्रूर गतिमा करुणा हुन्छन् ! सक्रिय शान्त मुटुमा तेरो सुन्दरले स्वपना बुन्छन् ! भोलि हुन्छ धौत गगन, पवन निर्मल सन्त ! ऋतु वसन्त हाँस्छ मधुर, शिशिर हुन्छ अन्त !