क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेणी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन ! ग. पहिलो कवि पछि लोचनका सलिलकण किरण चढेथे, किरण लडेथे स्वर्ग पुगीकन, अवनी छुन ! घ. सत्य नै के यसरी पहिले पग्ल्यो होला रङ्ग–पागल ? सृष्टिपरीका चुहे परेला यसरी झझल्की, पहिले लगाई, यो गाजल ? नवीन वधूका दुःखसुख मिसिई, झल्लरमा झलझल ? ङ. अश्रुत सप्तस्वर निर्झरिणी के यो ? घाम–छायाको मायाको के शादी सुन्दर ? रङ्ग–निर्झर ? दुःखसुख झरझर ? स्वर बरबर ? च. जादूचरी सलिल–तनीको कुसुमे लच्को चुली, चुली, साँघु बाँधी, दिव्य प्रदर्शन किन यो मचियो ? गाउँछन् मसिना बुलबुलचरी ! वाह ! कलाको, दृश्य, श्रव्यमा, विजयधुरी ! छ. न, किन हो ए ! झल्केकी ? स्वर्ग र पृथिवी टूट, सुन–नर–फूट, जोर्न तिमी छौ पल्केकी ? ज. बोक्सी बत्ती स्फुटिट किरणकी रङ्गिली बन्ध ! घन जलकण सब हुन्छन् पतङ्ग ! ज्वलन छ तिनको चरमानन्द ! झ. मर्न सिकाऊ बादललाई बलिदानी ! फुर्न सिकाऊ भू–लाई हे ! इन्द्रेणी !