क. मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो ! सूघँ बडो सरसरायो ! चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना त्रिकणी ओजोन्, माछा, माछा गह्नायो! स्वर्गमा आज डीनर छ ! क्रान्तिपछि ! कि ? क्या हो ? ख. देवासुरको युद्ध पछाडि विजयको भोज छ देउताको ! शुद्धीकृत यस वसुन्धराको स्वपना आउँछ कताकताको ! झुप्राहरु या अग्लेका, नौनी डल्ला पग्लेका ! ठूलो कराही, माछा झुरझुर ! रोटी कुरकुर ! चम्चा काँटाहरुको सङ्गीत ! एउटा मीठो नाच्ने गीत ! “हाम्रो लङ्का–जीत !” ग. दुलही जस्ती पो छ त घुम्टो जाली डाल्ली, सजल सुस्मिता, चन्द्रवदनी कृषिवाला यो ल्यासे जस्ती रात ! रात्रि किसान्नी, तारा पारी, नीलो सारी, मुस्किन खोज्छे बादल उघारी ! माइती सम्झी तैपनि भारी, सुकुमारी ! अतिथि बनीकन आऊँ कि ? नानी ! तिम्रो बन्दो व्यञ्जन चाख्न, घरमा भारी ! हवाइ तलाउको माछा ! माछा ! मसलादार ! घ. पखालिएको स्वस्थ गगनमनि चल्नु छ मानो यस याम ! कुपित क्रान्तिको कोप पछाडि छामछुम गर्नु क्यै रचनात्मक सुधारहरु क्यै प्रारम्भिक, स्वप्नगगनमा, ठाम, ठाम ! ङ. तर सुन ! तर सुन ! आर्कै गीत छ पृथिवीमा ए ? टुकुचा छयाङ्ग छयाङ्ग ! मैलो टुकुचा ! निम्न स्रोत छ ! गरीबहरुको गीतसरि छ जहाँ धनीको स्वाङ्ग ! साढेसात बज्यो ए टयाङ्ग ! टयाङ्ग ! “दुःखमा अरुका मुखमा पर्छौ” भनेर सुन हे ! गाउन लागे प्याज, लसुनका डयाँग ! दायाँपट्टि , फेरि कन्बक्रीट ? कसको घर यो ! बुलडग ह्वाङ्ह्वाङ्? बायाँपट्टि, कसको छानो यस्तो छ्याङ् छयाङ् ? कुन भूसे यो ? क्वाङ्, क्वाङ्, क्वाङ्! च. “पुग्यो यतिले ?”— बिजुली गिल्ली ! सपना हुन गै जूनकी डल्लो ! कृषिवालाको स्वपना रल्ली ! असन्तोष डकार्छन्डाँडा, खाडी ! सडक उकालो बनेको पाउँछु ! चिसो हवाले आशा घन्क्यो ! चल्दछ निहुरी, जिल्ली, जिल्ली हावा बेखुश, के चम्क्यो ! छ. मीठा परीले माछा भुट्छन् वैकुण्ठभरि ! एक चिथरीले हात पसार्छे एक पैसाको भटमास भनीकन, भूपुत्री, बिचरी ! थुरथुर, नाङ्गीवरी ! के आश्चर्य ? मेघ गर्जन्छ ! असुरहरुका जीत रहेछ ! बास्ना आयो उनकै माछा ख’री ! देउता भोकै मरी ! प्रथम सङ्घर्ष हार रहेछ देउताको ! बेस हो, चम्के हुरी !