क. सूर्यकी दुहिता! चन्द्रकी भगिनी! ए युवती! गर स्नान! ख. अनार पालुवा लाल रहन्न थाक्दछ बुलबुल गान! समयले सुन्दर स्वपना सहन्न! टुट्दछ रेशम तान! ग. यस पोकाम बिच्छी पस्छन्, साँप हिलामा बस्छन्। मैला बेहोशीका क्षणमा क्रूर जहरले डस्छन् धोई राख्नुपर्दछ यस्तो रातो रेशम थान! घ. अनन्त सम्झी मानव–जीवन प्रलय भुल्दछौ हामी क्षणका अन्धा दास बनीकन, भ्रमका सुन्दर सदन बनाउन, छौं नामी! ङ. सूर्य पिताको मुखमा राहु छ! किरणहरुमा बार! हिउँ हुने शङ्का मातालाई छ। खण्डहरको दुःस्वप्न कडाले झस्किरहेछ संसार! च. जीवन–ज्योतिमा छाया पर्दछ, किन बिरसौं? मत्र्यताको स्याउ रङ्गको यस कायामा मृत्युको छाया छोइरहेछ! किन हरषौं? छ. महाकालको दर्शन पायौं ग्रास विषे! छूत लाग्दछ पन्छीहरु लौ? क्या तरसे! पृथिवीको हो यो गङ्गाजल! स्नान गर! चिसो छामोस् मूर्ख कलेवर! सविता परका सविताको भजन गर! ज. भूनिशाको यस छायामा सूर्य बसे! मत्र्यताको होश नराखे, हृदय नधोए यस्ता क्षणमा साँप पसे! झ. बाग्मतीमा मध्याह्न ग्रस्त महान्! तर्सेकी चरी क्वै गर्छ स्नान! ञ. बैंशचुलीमा छाया छ! यो हो हृदय पखाल्ने बेला! आवान यो हो महाश्मशानको! धोऊ, गङ्गाजलले सुन्दरी! अल्पायु सुनौला चोला! ट. ग्रहण बुझेका स्नाताहरुको हृदय पखाल्ने भू–जल छ! अवनिपुष्पमा बादल छाया! विश्वास किरणमा निर्मल छ!