क. गोली हो यो गोली हो, काननेर गाउँछ सुइँय ! रणको बोली हो आजको यो निम्ता भाइ ! बल्दो भोलि हो ! ख. चण्डीको यो गिडगिडी, रुद्रको यो तान ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण ! जीतहारको छ आज द्धन्द्ध नृत्य, द्धन्द्ध नृत्य, हेर ! हेर ! लाल आज उग्र लाग, सम छ बलिदान ! प्रलय डमरु बज्छ डिमडिम, खुल्छ रुद्रधाम ! गोलीसाथ बोल्छ गोली, ‘के छ भोलि हो ?’ आउँदा युगको गान हो यो, राग होली हो ! ग. भेटे यसले देउता पार्छ, छलिए दिन्छ राज ! यसले जिउन, अमृत पिउन, लाउन देवताज ! काननेर गाउँछ सुइँय ! आत्मा नै उडाउँछ हुइयँ ! पुरुखाहरुको माझ ! छातीले धकेले स्वर्ग पीठले पिछोले नर्क, केवल मुटुको जाँच ! भूचरी या नभचरी, दुईमा एक आज ! जो अमूल्य मिल्छ भाइ ! ज्यान मारेनी हो ! घ. छायाबाट तर्सिएका, मायाबाट पर्सिएका खुम्चिए,डरे ! कालले घिसार्छ बोको, कालले घिसार्छ बोको, फेरि त्यो भरे ! शहीदलाई खोज के छ ? वीरलाई मोज के छ ? बोक्रो यो झरे ? गुदी देखाउँला नेपालीको, गुदी देखाउँला नेपालीको, मातृदूध रे ! कालसाहू ऋण तिरेर प्वाँखजस्तो हलुका बन्दा घट्छ के भरे ? एक लहर चिडिया उड्लान्, प्रातः बोली हो ! मानवको यो स्वर्गतर्फ एक टोली हो ! ङ. सबको भाइ, मेरो भाइ, सबकी बहिनी, मेरी बहिनी, सबको घर हो मेरो घर ! यत्ति राखौं मनमा सबले, एक्लिँदैनौ केको डर गै बसौँला सबका छानामनि रे एक जहाज बनी, पूजाकोठा भर ! बादलको त्यो ढोकाभित्र हेर ! घाम छ, घाम छ, घाम छ, शङ्का छैन, डर ! स्वप्नमा घुसौँला हामी, यादमा बोलौँला हामी, नेपालीको कान छ ! जान्छ वाचाल हाम्रो स्वर ! माटी चोली फ्याँकी लाउनु सुनकी चोली हो ! च. लहडदास, कीर्तिप्यास सर्पले हान्या होइन यो त ! तार तान्या होइन यो त ! यो त देखाएको नर ! यो त रेटिएकाहरुको आत्मा बिउँझ्या, आत्मा जाग्या, विधिको अचूक सर ! बीउ फुटेको,मृत् टुटेको उबजनी अमर ! मूर्छाबाट बिउँती चल्नेहरुको बोली हो ! छ. दालभात दालभात गाँसबास ! नेपालीको नाङ्गो जीउमा केवल एक कपास ! मानव–हक औमानव–आस ! यही कदम हो, यही कदम हो, यही कदम हो, भोकको दम हो, प्यासको वेग हो ! मानवताको द्धार घचघच, एक ढयाङ्ग, एक ढम्म हो ! बोल्छ प्राण–नलीको भेरी, ‘कुइरो नाश ! कुइरो नाश !’ एक नयाँ प्रकाश ! वेदनाको ज्वाला मुख हो, न्याय बोली हो ! ज. आँखाको यो दोष होला अन्धतासँग रोष रोला बम्किएको होश होला दीर्घ नींदको बलि ! हिउँमा पाइला, झारमा पाइला, तीरमा पाइला ! नाङ्गा हड्डी क्रूर भाइ ला ! यो युवकको अञ्जुली ! जो जिएथे, जो मरेनन्, रातमा बोली हो ! झ. क्याँग ती बूटले खान्थी काँढा झाँग ती,बालू ढयाँग ती ! हाइ लडे, मर्काई आँग ली ! तिनको लाल छाप हेर ! फेर्छ पृथ्वी भोलि हो ! व्यर्थ हुन्न ! चल अगाडि ! बाढी, बाढी ! एक रोज होला फेरि नेपालीको यो आकाश छयाँगछयाँगती ! युगले फेर्ला चोली हो ! कदम कदम हो, क्रान्ति, क्रान्ति राष्ट्र शान्ति ! राष्ट्र शान्ति ! यी किरण फुटेर मेट्छन् भूतभ्रान्ति भूतभ्रान्ति ! फेर्ने चोली हो ! ञ. तारालाई बाटो लाउने, दिल उदाउने न्यायशील ! छौ कि भूमा ? छौ भुवनमा ? छौ कि स्वरमा ? लेऊ यो अपिल ! हकको शिशा छिन्नेमाथि ! मानवलाई किन्नेमाथि हेर आँशु–झील ! आमा भोकी, बाटो रोकी, कोही हिँडयो कि ! सुन्निएका डील ? ती रुलाउने, ती गिज्याउने, ती भिजाउने –लाई गिद्ध–चील ! आज तय होस्, आज तय होस्, आज तय होस्, हकको टोली हो ! ट. पाठो छिर्केको बिहान छ ! यो रगतले रात जान्छ ! कुम्भकर्ण माटो खान्छ ! रावण जा ! जिन्दगी ! तेल ढली, औ तेल जली ! बन्दछन् दीपावली ! सारा शिखर देशका जल्छन् भोलि हो ! ठ. सनसनी आनन्द कसको ? वीररसको ! ज्यानको दाता उही, ज्यान उसको भेडा मर्छ घाँसमाथि, जिन्दगी नै रोग उसको ! अब नृसिंह गर्जिदो छ, खम्बा फोरी दीर्घ युगको, दैत्य झस्क्यो ! दैत्य झस्क्यो साध नरको चोली हो ! ड. आयो मजा क्यै ? वीरहरु हो ! काल कुश्ती ? भोलि क्या कहानी भन्लान् हरिया बस्ती ! गोली हो यो ! दासदलको अन्त्य बोली ! अन्त्य बोली हो ! एकलौटी शक्ति रुन्छे, लोहा बिन्दु धोली हो ! ढ. भीम भाइ हो ! भीम भाइ हो ! भीम भाइ हो ! दाह्रा फर्रे ! काँधले धकेल्छौं पर्वत, यो उखाड्छौं, यो उकेल्छौं ढुङ्गा पर्रे ! दाना, दाना, पुरुखा झिल्के, पुरुखा झिल्के जनको राज ! जनको राज ! या त भोलि या त आज ! पन्छी हो ! पन्छी हो ! हुर्रे ! हुर्रे ! आयो आज अन्तरात्मा दुष्टताको पोली हो ! ण. बढ अगाडि, बढ अगाडि, बढ अगाडि ! निराश ताडी, आश छाडी, बाढी ! बाढी ! काँढा गिज्याई, कुल्ची झाडी, मानवको यो झन्डा पछाडि ! एक वीर, एक बज्र, चट्क बोली हो ! त. के दधीचि केही बुझ्यौ त ? हड्डी चट्की बाजलाई चोक्टा दिनुको के त आज शौक भड्की ? थर्र संसार पार्नु के यो हाम्रो थोरै शान हो ? मानिस पड्की, वायु रड्की, पृथ्वी गड्की, वज्रको यो गान हो ! भोलि नेपाल आँखा मिच्ला बिउँझी आँखा खोली हो ! थ. गाउँछ गोली गोली जो ! स्वागतको बोली हो ! क्यै न बोले बाह्रमासे फूल नित्य भोलि हो ! बोल्न पाए ‘जनतन्त्र’ धूवाँ फाट्दा खार छाड्दा रुद्ध कण्ठ खोली हो ! गोली हो यो गोली हो ! तिनका मर्लान्, असिना पर्लान्, पग्ली झर्लान्! हाम्रा चाहिं जुगजुगलाई गाइरहलान् होली हो !