सुन्दर युवक सुतेका रुखमनि थकित शिलाको तकियामा । यौटा घाँसी धार लगाई बसीरहेको हँसियामा ।। वनको मीठो गान घुसेको यौटाको मृदु सपनामा । यौटाको दिल स्वर्ग उडेको निर्मल जीवन बिपनामा ।। बिउँझी सोध्छन् युवक उज्याला, 'के गर्छौ तिमी हे घाँसी ?' बोल्दछ घाँसी, 'सामल केही बटुलिरहेछु', मृदु हाँसी ।। 'कस्तो सामल ?' 'बाटो लाग्नु छ एक अकेला दुनियाँमा । कोही छैनन् दिलमा झल्क्यो हात खियाई हँसियामा ।। बेची सँगाल्दछु दुई तिन पैसा धारा पाटी राख्न छ मन । यहाँ नरोपे कसरी फल्दछ खेल्नु खिलौना कति दिन ।।' चरचर, चमचम हँसिया नाच्तछ अडि अडि बोल्दछ घाँसी । छिन-छिनलाई रत्न उज्याला तुल्य सँगालि, नमासी ।। 'ईश्वरको यो जङ्गल बिर्ता घाँस फलेको खेत मलाई । बाली उठाउँछु तल्सिङलाई भारा तिर्दछु पृथिवीलाई ।। रामछाया दुई दिनको यो सच्चा काम गरे छ इनाम ।।' चुम्बक लाग्यो, बिजुली झल्क्यो टोह्लाई ती चकित बसे । पात चलेका मधुर तराना चिडिया वनका भित्र घुसे ।। लयमा बहँदा भाव अनेकन् थाले चल्न मनोहर चाल । 'अहो' मसीनो ध्वनिको भन्थ्यो 'यो घाँसीको जीवन हाल ।।' बिउँझायो अब, बिउँझायो अब वनको सुतुवालाई बिचेत । लोचनयुगल रसाई आए 'फुलि-फुलि आयो छाति समेत ।। थोपा दुइटा गुडिकन टप्के शान्त शिलामा अभिराम । रेखा सुन्दर पर्न गएछन् देखे दुइटा अक्षर 'राम' ।। 'को हो ! को हो !' कोइली बोली अस्ताचलमा रवि टप्के भावुक दिलका अरु अरु थोपा टप टप सुन्दर टप्के ।। वनको रङ्ग बनाई स्याही लेखे रसल प्रवाह पवित्र । चिडिया झैं ती गाए सुन्दर वनमा, घरमा, पिँजराभित्र ।। अमृत पिए सब भाइ डाँडाकाँडा गुन्जिउठे । शीतल धारा सुखद छहारी धूप र तिर्खा आज मिटे ।। गाइरहेछन् आज उतातिर राम र सीता पाउनिर । घाँसी मल्दछ पाउ कमल झैं नेपाली दुई गादिनिर ।। शुक्रतारा ! सुन्दर हाम्रा ! नेपाली हे प्रथम ध्वनि ! यस्ता घाँसी युवक भरी हुन् नेपाली यो गगनमनि ।। भाषाको यो शैशव सुन्दर तोते बोली बधुर सुधा । बालकपनको मृदुल मसीनो सरल उज्यालो निर्मलता ।। तिमीले बोल्यौ, बाहिरभन्दा भित्र मिठास विशेष । ओर्लन फेरि, धेरै दिन भो प्यासी भो अति देश ।। जनभाषाका जन्मोत्सवको निर्मल सुन्दर यो इतिहास । अहो ! उज्याली पृथिवी नहोलिन् ? मधुर नहोला मधुमास ? (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)