क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ ! ख. यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ ! प्रकृति बसेर, दुइटैको दिल, एक धागोमा सिउँछ, सिउँछ ! त्यो तर्सिन्न, म शङ्किन ! मध्यरातमा एक कोठामा दुइटै जीवको जाग्ने निहुँ छ तलतिर लागे यस संसारमा आगो, आगो, मास्तिर ज्यादा लागेदेखिन् यशको चिसो हिउँ छ, हिउँ छ ! बीच बासो, फ्यारफ्यार मध्यम, रसले जिउँछ, रसले जिउँछ ! ग. बिजुलीको तार लामो, मसिनो, तानिएको हेर ! यहाँ छ ! तरङ्ग, लहर क्यै त्यसमा जिउँछ ! त्यसमा गौंथली रातमा रुँग्छ, कविको मन पनि त्यस्तै उँग्छ ! स्वर्गले रोई हेरिरहेको भिजेकी पृथिवी मनले सुँघ्छ ! दिनभर, दिनभर, दिलले, साधन त्यस्तै हिलोमा प्यारका एउटा महल बनाउन, ठुँग्छ, ठुँग्छ ! सूनसानमा निशिको, सुत्दा सारा संसार, जागी, जागी, कल्पनाको आँखा उँग्छ ! घ. सुहृद्मधु छन्, कविता, पोथी, सँगकी ज्योति ! यस जगत्मा खँदिलो बासो निम्ति, उनको ‘चिउँ’ छ ! ‘पिउँ’ छ ! मधुमास बिताउन नेपाल छान्यौं, विवाहपछाडि, स्वस्थ र अग्लो ठाउँ जुन छ । गौंथली र देवकोटाको अध्यात्म मितेरी चुपचाप रुन्छ ! सृष्टिको हाम्रो पीडा देखी, करुणादृग झैं तारामय नभ, करयाइँबाट झ्यालमा चिहाई, एक तारमा गुड्छ गुड्छ ! गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ ! ङ. वसन्त पछाडि लागी आयौं ! स्वपनाको फुल बिपना हुन्छ ! गौरी–शङ्कर गाना गायौं — प्रकृति पुरुषको जुहारी परस्पर, गाना जुन छ ! त्यो चुच्चाको, यस रसनाको, गाउँदो रचना हाम्रो घर हो ! युगका बच्चा आँखा उघार्लान्, हेर्दै पर हो ! दिनभर, दिनभर, जगत्ले कुल्ची हिंड्ने हिलोमा, हाम्रो नजर छ त्यही हो हाम्रो घरको साधन ! यस्तो ईँट र यस्तो माटो, नेपालभर छ ! पृथिवीभर छ ! दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर, माटोको गन्ध नाकले सुँघ्छ ! स्वर्ग रोई, गीला, बनेका हिला चुचाले उचाल्न खोजी ठुँग्छ, ठुँग्छ गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ ! च. बच्चा काढी यस गुँडमा जब तिनको पखेटा उम्रन्छ ! वनमा लगीकन तिनलाई उडाउन, हाम्रो मीठो मनसूब छ ! त्यसपछि प्यारा, प्यारी हामी कविकविताको गौंथली जोडी उड्छ, उड्छ ! सागर–किनार पुग्छौं, फ्यारफ्यार एक बार फर्की, आँसुले हेर्न, मानिसहरुको जङ्गल जुन छ ! डुब्छौं, दम्पति सागरमा तब, सुखमा हाम्रो आत्मा बुड्छ ! प्रसव–वेदनाको यो सदनको पीडा उड्छ ! गौंथली र देवकोटाको, एउटै गुँड छ ! एउटै गुण छ !