क. प्रभु गैँडा ! प्रभु गैँडा ! देऊ घिउ, चिनी, मैदा! तातो हलुवा गर पैदा ! कर्कलोले पेट दुख्यो अति ! खल्लो भयो अब कैँडा ! अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन ! दुःख सागरमा सुख–वन्दरगाह खोजी चल्दा हामीहरुको पार लगाऊ बेडा ! ख. सङ्कट–युग छ ! सताइरहेछन् दरिद्रताका छौँडा ! फलाम आज हाम्रो चिउरा ! धनी न दिन्छन् कौडा ! प्रियतमा छन् हाम्री पहेँली ! बच्चाबच्ची नलिखुट्टी ! अस्तित्वको छ सामु पहेली ! फिरफिर निभ्दो बत्ती ! बजारमा छन् सुरसा भाउ साहू ! मरी–मरीकन जिइरहेछौं हाहू ! मुर्दा जीवनलाई बेरी रङ्गी कात्रो, भद्रपुरुषका नाम मलामी, आफ्ना आत्माहरुका हामी, मरमिट घाटतिर बनिरहेछौं, जात्रु ! जात्रु ! गर्ने क्या हो ? छेपारोको उखान भएको आत्मविकास कानेखुशी आउँछ गर्न, ‘आत्मविश्वास !’ लथालिङ्ग छन् हाम्रा घरजम ! कीटाणु मित्यारी लाइरहेछन्! ओहो ! सामाजिक यत्रो भास ! किन ? किन ? सोध्छौँ हामी युगुसँग ! लागी औडा, तिमी दयालु छैनौ प्रभुजी ! हे गैँडा ! ग. सम्शेरहरुले मार्थे तिमीकन ! आयो सचिवको पालो ! क्रान्ति यत्ति भो ! आलु–सिमीकन छैन बदनमा टोलो ! घरमा छैन दियालो ! धम्र्म गर्छौं अब परिवर्तन ! सङ्ग्राम तीतो र तीखो छ ! प्रभु गैंडाको पूजा गर्छौं ! धम्र्म यही नै दिगो छ ! घ. सपना, बिपना तिमी नै हाम्रा ! बन्न देऊ दिल सब चाम्रा ! हाम्रा युगका छाप हे राम्रा ! प्रभु गैंडा ! आत्मा दिन्छौं, जीवन दिन्छौं, दिन्छौं साथी भाइ ! बाबु, आत्मा, पत्नी, प्रियतम, सब तिमीलाई ! हटाऊ दुःखका छौँडा ! राजधानी तिम्रा सारा तिम्रा गौँडा ! अन्नदाता ! कलिका त्राता ! भूस्वर्गका ए पिता औ माता ! प्रभु गैंडा ! ङ. बीसौं शताब्दीका यस ढलकका यस युगका हुँ नेपाली ! धर्म्र्म नयाँका अवलम्बि हुँ ! भोका मुख हुँ जन्जाली ! प्रभु गैँडा ! प्रभु गैँडा ! जाँदैनौ नि स्वर्ग ! बिरायौँ ! पृथ्वी बस्छौ ! भूकैँडा ! पण्डितहरुले छकाइदिएछन्, बनाइदिएछन्राम–भेडा ! झूठा पाठ गरेछौँ ! बिरायौँ ! क्षमा–त्राता ! मोलतोल अब उल्टा लिनेछौँ ! माम–दाता ! पाता कस अब अध्यात्म असुर सब ! भर खाता ! सकल प्रजाका प्रतीक प्रभुका दिव्य मूर्तिले अङ्कित तिम्रो टप पात ! जन–वनका ए राजा अशङ्कित ! अनेक मुद्राहरुले झङ्कृत ! प्रसन्न बन हे विधाता ! च. विराट्छ आज ‘सहस्र–सङ्ख्या पुरुषः !’ सर्वतः स्पृत्वा दशाङ्गुलीले समाजमा छ सङ्घर्ष ! सञ्चालक हे सकल नशाका ! सकल दिशाका ! सकल दशाका ! जगतःआत्मा ! दालमा, भातमा ! दिनमा, रातमा ! सारा बातमा ! सेफमा, साथमा, मुखमा, हातमा, सब जातमा ! बाहुन तिम्रा मुख झैं बोल्छन् ! क्षत्रिय तिम्रा कर झैं लड्छन् ! वैश्य, बेपारी उरु झैं चल्छन् ! शूद्र पयरमा सुक्दै झुल्छन्! लक्ष्मी–नारायण हे गैंडा ! जन–जङ्गलमा अवतारी भै कलिमा पैदा ! देऊ घिउ ! देऊ चाँवल ! देऊ मैदा ! विभूति तिम्रो निमुखालाई भयदा ! भयदा ! चतुरालाई जयदा ! हयदा ! प्रभु गैँडा ! छ. तिम्रो जन्म सवाई–घाँस ! अवतारहरुको जुन हो वास ! बुद्ध जन्मिए वनका तृणमा, ईशमशीहा अरु कुनामा ? ईश्वर पुराना हामी मास्छौं ! ऋषि, मुनि, शास्त्र, साधु छास्छौँ ! पोल्छौँ वेदगैँडार उपास्छौँ ! भासको आत्मा बलले उकास्छौँ ! शक्ति वृषभ हे ! डुक्रन पास ! हात उठायौँ ! अवतर सुन्दर ! दूर हटाऊ भूतका छौँडा ! गैँडा ! गैँडा ! प्रभु गैँडा ! ज. सुट्ट आउँछौ कोही घरमा, मारी चाल ! थुप्रिरहेछौ कहीँ निडरमा मालामाल ! दर्शन काहीँ दिँदै,दिँदैनौ, घटघट हाल ! हामी खिचडीवादी प्रभुजी, बन्छौ आज ! जन बेहाल ! अपार छ तिम्रो, बुझी नसक्नु, टेढो चाल ! जिउनु हो धम्र्म, मर्नु हो पाप ! सिद्धान्त फेर्‍यौँ, ए आऊ ! अध्यात्मवादी भनीकन फेरि, हामीलाई नसताऊ ! झ. तिमी नै चल्दा पाङ्ग्रा, ढयाङ्ग्रा ! बङ्गारा औ पन्जा, नङ्ग्रा ! तिम्रा ह्वाङ्ग्रा, तिम्रा पाङ्ग्रा ! गुलेली, मट्याङ्ग्रा ! भेडा, च्याङ्ग्रा ! तिमी बिनु सब ग्वाङ्ग्रा, गोज्याङ्ग्रा ! बर्फी तिमी नै, अर्बी तिमी नै ! ओज तिमी नै, भोज तिमी नै, मोज तिमी नै, पोज तिमी नै ! रोज तिमी नै प्याला–छाल ! दरबार तिमी नै, तरबार तिमी नै, मोटर माल ! क्रान्ति तिमी नै, कम्प्रोमाइज तिमी नै ! ऊँचा पद औ ठाडा नाक ! बिर्तावाल बुर्जेवाल ! अत्तर कमाल ! रेशम जाल ! नाइलन सारी घूँघरबाल ! तिमी नै चमचम ! काजूगेडा ! भगवन्गैँडा ! भगवन् गैंडा ! ञ. जय युग–ईश्वर ! जय घटवासी! जय जय डोरी तान्न प्रयासी ! शक्ति छ प्रभुको वर्णनपार ! गैँडा ! तिमीकन मारे, तर्पे आत्म, पितृका तृप्त हजार ! ट. हाम्रो धर्म्र्म छ जङ्गल बीचमा एउटा उठेको माग्दो हात ! आकाश तरफ नित उठिरहेको ! ‘आऊ भगवन्! गैंडा ! खात ! देऊ दाल र देऊ भात !’ ठ. हामी पुस्तौँ पुस्तौँ ठगिँदा, हामी भोका नेपाली ! हाम्रा भाव, विचारहरुका, प्रधना तिमी नै अधिनायक होऊ, सञ्चाली ! आत्मरक्षण प्रथम नियम हो ! देऊ अरु सब नीति फाली ! रेशमकीरा अँडिरनपाए, बुन्छ कहाँ रे साहित्य, कलाका मसिना–जाली ? चोर साधु हो, अदालत पापी, परम्परा छ उल्टो खालि ! हाम्रो आत्मा विकाश छ गर्नु ! भर थाली ! चल्छौँ महाजनहरुको बाटो ! चाहन्छौँ हुन मोटो घाटो, गैँडा–दार ! आत्मा मर्दछ, माटो नमर्दछ ! बल्ल बुझेका छौँ यो सार ! अमरता नै हाम्रो टुटेको, आत्मा हाम्रो दूर छुटेको, जायज छन्सब चोरी,डकैती ! रिश्वत, बायाँ हात सबै ती ! जिउनु छ हामीलाई बोल्न ! हिंसा धम्र्म छ कुइरो खोल्न ! बेईमानी, वेदमा ऋण छ ! मिथ्या ठीक छ ! जिन्दगी नै हो धम्र्म महान्! आत्माभन्दा ठूलो प्राण ! गैँडाको एक मन्दिर बनाए छैन उजूर ! दैवी सम्प्त बलि ली जान्छौँ सब नेपाली, हेर्दै गजूर ! छोरा, नाति, पनाति, खनाति, जनाति चलून्रे ताँती ! ताँती ! अटूट लहर भै भाँति, भाँति ! जाति–सातत्य धम्र्म हो जाति ! अविरल धार ! प्रकृत मानवचेत यही हो ! प्रभु गैँडा ! गरिरहेछौ अरु संहार !