अमृत कलकल वाणी ! ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण । “आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी ! अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग, रङ्ग छ एक बिहानी ! जाग जाग हे ! शिखर लाग हे ! चिरनिद्रित दृग मिच ज्ञानी ! निर्मल हृदय छ तिम्रो वैकाल, वल्कसको जल–खानी ! प्रथम किरणकी ऊँची चुली, प्रथम सृष्टिकी रस लहरा ! सभ्यताकी गुरुमा नि ! सकल धम्र्मकी किरण–केन्द्र ए ! विश्वकी पहली बिहानी ! पामीर तिम्रो विश्व–छत्र हो ! झ्यालमोलङ्मो कीर्ति–चुली ! स्टानोभोइदेखिन् एल्बुर्जपर्वत–हार बयानी ! निहुरिन्छयौ तिमी यूरालउपरमा चुमी यूरोपा रानी, उत्कर्षहरुको खानी ! चिरशोषित हे ! चिरदूषित हे ! जाग, जाग हे जाग ! अरबौं जनका जनशक्ति लिई उन्नति–पथमा लाग ! उच्चारन हे विश्वप्यारको, विश्व–शान्तिको वाणी— महाद्धीपकी ए महारानी ! आर्य र मङ्गोल द्राविड, निग्रो, कमचटूकी या जापानी, सुमेरुदेखिन् वालीसम्मन् यूराल फुजी सीमानी, एक लहरमा सब लहरेलान् ! एक प्रभावले सब सिहरेलान् !! एक हि लक्ष्य निशानी ! मानवताको झन्डा उचाली ! युगका कुइरा फाली !! एक सूत्रमा सकल राष्ट्रको प्यारको माला गाँसी, भाइ परस्पर जानी ! उच्चालित होऊ ! उच्चालित होऊ ! जाग जगत्मा, मावनताको जीवशक्ति प्रमाणी ! महाद्धीपकी ए महारानी ! सकल विभवकी खानी ! जाग एशिया रानी ! चीन छ तिम्रो वीर सुपुत्र सिंह उठेको अब शानी रुस सदृशको तनय विशाल छ, विश्वविजेता विज्ञान । तर भूतलमा आज छ राती, थरथर काँप्दछ मानवजाति, आण्विक ली पशुबल कोही धम्की दिन्छ नजाती, तिमीले बोक्नु छ आश–दियाली तिमीले अमृत–थाली तिमीले बटार्नु छ सूत्र सुनौला, प्रेमको पन्था चाली ! विश्वशान्तिकी ध्वनि बन शानी ! महाद्धीपकी महारानी ! जाग छ आज बिहानी !!