क. ‘हुन्न’ भन्नु तिमीले केवल आफूलाई नचिन्नु हो आफूलाई नगन्नु हो ! स्रष्टाका ए प्रतीक अदर्पण परिस्थितिको स्रष्टालाई, धुस्नाहरुमा चट्ट सुताई, कैद गरीकन थुन्नु हो ! ख. किन हुन्न ? किन हुन्न ? यस माटोमा अङ्गुर स्याउ ! सह्यार बाहुला कोदाली ली, लौ आऊ ! यो हो फलको द्धार हेर ! आफूलाई चिन्ने ठाउँ ! ग. यहाँ छ एकै अभाव सधैँभर— एक तिमी ! एउटा रुद्र, एउटा विष्णु, एउटा ब्रह्मा, त्रिमुखी ईश्वर, एउटै मात्र जम्मा ! केवल तिमी ! घ. देशको यो विस्तृत माटो यसमा कुन हो रसको कमी ? चाहिन्छ केवल एउटै मान्छे केवल तिमी ? ङ. यस्तो चिसो बिहान, प्राणलाई पुष्प बनाई हातमा ली जाऊ, जाऊ आफ्नै सुनौला मन्दिरको पारसनाथ ! विश्वास गरेपछि, को छ अनाथ ? के छैनन् भन, साथ ? ईश्वर एउटै मात्र यहाँ छ— सम्झ गमी ! केवल तिमी ! च. भैगो मरेछौ बाटैमा ! तिमी मरेपछि देख्नेछौ ए आफूलाई हिडिरहेको, हिडिरहेको, चालू लक्ष्यको साथैमा ! शास्त्रहरु सब सच्चा हुनेछन् ! विश्वास गर ! आत्मा तिम्रो मर्दैन कहीँ हामी नास्तिक बन्नेछैनौँ पाई फेरि तिमीलाई यहीं ! शून्य डराउँछ एकै चीजले— जान्छ गुमी जिउँदा भएमा—केवल तिमी ! छ. ‘हुन्न’ हो शून्य ! ‘हुन्छ’ हो धन्य ! पहिलो चिहान हो, दोस्रो चमत्कार ! देशको केवल एक कमी ! पटुका कसेका दहरा अमर उज्याला काल गिज्याई हाँसेका एक तिमी ! मुर्दा जगत्हरुका हे प्राण ! यहाँ छ तिम्रै मात्र कमी ! उद्दीपन छौ प्राणहरुका केवल तिमी !