क. एक छिनको तरङ्ग भनूँ ?कि चाख लिनेले मार सुनूँ? कि किनकि , कानेखुशीको एक कुरो हो ! लहड चरो हो ! एक तरङ्ग ! सनकी ! ख. ठोस जमीनमा उभ्भिरहेथेँ । चट् अल्प्यो ! खँदिलो सारा शून्य भएछ ! अगाध भास पो, अनिर्वचनीय, झट्झल्क्यो ! ग. खसिरहेथें, खसिरहेथें, स्वार ! स्वार ! ! रिक्ततामा झारिरहेथें ! नष्टाकार ! बेपिँध शुन्यको पिँधनिर अन्धकार ! घ. नीलो कालो जीव तर्सियो । “नभवेयं !” आत्मनाशको त्रास वर्षियो । एक झमटमा, सोधी, “शुुन्यो ऽहं ?” ङ. मभित्रको क्यै खँदिलो बोल्थ्यो । “छु नि छु !” एक निमेषमै यो सब अनुभव, गुज्रयो, उहू ! च. अन्तिम घिरघिरको अनुभवझै अनन्त पतन दशामा, के के अनौठा बोली निक्ल्यो, आफु बिलाउँदो सम्झाउँदो, “आम्मा !” छ. भारद्धाज ऋषिको आत्मा, मानो, अचम्म अगाध भाषमा झर्दै बोल्यो, हठ–तपले “ब्रह्म !” ज. यति कुरो हो ! लाजै लाग्दो ! कस्तो ह’ कि ? सुतिरहेको बेला खस्दा, झस्की, शरीरमा होश क्यै पस्दा, तपाईलाई पनि क्यै कहिल्यै, यस्तो भयो कि ? जी ?