छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनीधरा सुनौलिएर मुस्किइन्! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए ! बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे ! रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा ! उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ ! शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट, स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी, सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ? टुना गरेर चित्तमा चकोरका झिलीमिली ? अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली ! स्वरुप–शिल्पकारको टुना गवाउनाकन ? म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै ! समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै ! गुलाफतापले रचे विरिञ्चिले मनुष्य कि ? मिलेर राग, वासना, फलिन्, फुलिन् वसुन्धरा ! छ मासुरङ्ग रेशमी लुगा लगाउने चरी ! अनङ्गबागमा बसी अलाप्दछे धनी सुरा! जिती समाधि साधुको परी अपूर्व छिल्लिए ! छ मृत्तिका–प्रधान नै मनुष्यजीव, भूसुता ! म मासु–लाञ्छना गरी म पस्छु है चिसो गुफा ! म फूलको हूँ पारखी ! म पुज्छु सृष्टि, सुन्दरी! मिहीन वाण हानिंदा, न घाउ लाग्नु हो शिला ! म मासुको ढुकढुकी हुँ! म वेदना, म शास हुँ ! म चर्म रे ! म दृष्टि रे म रश्मिको जवाफ हुँ ! म हारको विहार रे ! म पादको सिँगार हुँ ! म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका ! मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ ! म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर ! म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर ! इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो ! म मासुको गुलाफको मिठास के गरी? भूलूँ निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो ! समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी ! म दीपको पतङ्गको अडान–निम्ति वार के ! यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो ! यही चकोर प्यास हो ! हुनाको मात, आश हो ! म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो ! न साँझ चान्द्र शैलमा प्रभापुरी अघि स्फुटी गुलाफिइन् हिमालका समस्त टाकुरा जली ! यही अपूर्व कीर्तिले ! पखेरु खल्बल्याउँदै ! इशार स्वर्ग ! छैन त्यो भनेर भो म भन्दिन ! चिनेचिने सरी छ क्यै ! मलाई “आ” भनीकन इशार्दछयौ ! म आउँला ! पिएर तृप्तिँ ल्यूअघि ! मलाई बोधिसत्वमा पु¥याउँ भन्छ पालुवा ! समस्त चारु चीजले मलाई आज डाक्दछन्! तथापि अड्छु गौडले ! छ पर्श कालको यहाँ जहाँ उडेर रङ्ग क्यै परेछ दाग द्धारमा ! तिमी गिज्याउँछयौ अरे ! म मूर्ख हैन, ए पख ! समाजलज्ज मान्नको छ देखिने अरु टक ! ‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ? कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ? यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है ! म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है ! यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ ! न हाँस ! कालको कथा कता कता सुनिन्छ है ! तिमी नजीक काल के ? म कालसाथ लड्दछु ! तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु ! उषा थिइन्, जली मरिन्! सुवर्ण–साँझ अल्पिइन् न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ ! न देखिने खुँडा लिने मलाई क्वै सताउँछ ! कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए ! प्रसूनसाथ रोइनौ ? निशाग्रटधोइनौदृष् ि? र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ? सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ? गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ? म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ ! विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ ! म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे ! अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे ! तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा ! सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्! तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास हो ! झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा ! ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्! तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् ! तँ नूर हो स्थिरप्रभा ! यहाँ छ –कामिनीशिखा धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा ! म वीर हुन्छु प्रेयसी ! शिंगार शस्त्रले तिमी ! पठाउ काल युद्धमा !चढाउ अश्व, कल्पना ! अरण्यमा विशाल त्यो जहाँ गएर जानकी दिएर रामवाहुमा प्रचण्ड शक्ति मुस्किइन्! निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ ! तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु ! तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो ! हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके ! अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ? विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ? म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली ! मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया ! न तौल अङ्गुली तिमी ! दशैं त मूल्य हो भनी ! हजार ज्यान अर्पिने विलासदास सामुमा ! अहो ! कसोरि सस्तियौ ? तिमी ? लसुन, प्याज झैं ! छ सानु रश्मि जो यहाँ, चढाउलाई हाँक खै ? जमीनमा झरी बस्यो मिठासको महाफल ? कहाँ छ टिप्नुको मजा ? र ज्यान जानुको रस ? ए प्रेरणा विशालकी ! गंभीर–अब्धि कूलमा बनेर रेणका म¥यौ ? जहाज–पाल बन्दिनौ ? शहीद चारुको म ता ! प्रभातको विहङ्गम ! म स्वर्गपुष्प–चोर रे ! प्रताप आत्मदानको ! मलाई माग चाहियो ! मलाई आग चाहियो ! म भस्मबाट ब्यूँतिने विलासको चरा नहुँ ! म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस ! मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्! म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु ! नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु ! तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु ! विशाल सूनसान नै बसाउनेछु सुन्दरी ! कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी ! बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ बजारमा समाजको, गिज्याइ आजको मुख ? जहाँ छ साँढे स्वार्थको सुचारु –पुष्पभक्षक ! जहाँ छ राज्य मासुको र आँशुको जलाशय ! छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ ! ठगी, अपूर्व रुपको ! र नोटको बजार छ ! चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ ! जहाँ समाज नामको कुनर्कको मुहार छ ! समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ ! अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी ! तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा ! विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ? यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना ! निसर्गको प्रवञ्चना ! यो दागदीप आजको ? विशाल व्यङ्ग्य, व्यङ्ग्य हो ! समाजको समाजको ! प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी ! निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ? लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्! धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ? ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा ! म बुझ्न सक्छु कालिके ! सिंगारिई सुरा पियौ ? ल नाच ए भयङ्करा ! सती, प्रलाञ्छिता, भृता, प्रकुण्ठिता, प्रवञ्चिता, रुलाउँछयौ विभेदले, झिझिल्किएर शानमा ! शठात्म–रुण्डमुण्डको झुलाउ माल्य अङ्गले ! मताउ ती महापशु ! प्रताडन अगोचरा ! स्वरुपमा नदेखिई, स्वभाव के लुकाउँछयौ ? रुमाल के फुकाउँछयौ ? गिगिल्ल, फर्फराउँछयौ ? मुसुक्क काम पुत्तली बनी तिमी छकाउँछयौ दशाङ्गुली, गनी, गनी, “तँ आ !” भनी जनाउँछयौ ? जनाउँछयौ वलि ? छली ? नमाग पेटले तिमी मलाई ! डर्छु हे खरी ! नडाक मासुले तिमी मलाई ! जल्छ है डढी ! म धीर, वीर मर्द रे ! सहन्न मान–हानि यो ! नजिस्क, जानिजानि यो ! नजिस्क है ! म डाटुँला, न रुप चिने सरि ? ए फ्याउरी ! ए स्निग्ध घोडा घाँसकी खरिद प्यार मासुकी ! ए गर्त ! यौनप्यासकी ! ए पुत्तली विनाशकी! विकारकी ए दाउ ए ! सँभाल वृत्ति आउ हे लुकी, छली, नखाउ औ चपाउ हे । समाजध्वंसकी तिमी मिठीमुहार माउ हे ! न मान्दछयौ भने हरे ! छ के सिवाय वेवशी ? ए उर्वशी ! यो कत्रो रीस , कत्रो रीस ? भन्दछयौ “त्यहीं बसिस्? न आस्यमा, न आस्यमा, परिस्, मरिस्?” लुकाई गन्ध क्रोधको, ज्वलन्त क्वै चितासरि, शिकारका खरानीले घसी मुहार सुन्दरी, महाशिखा ! उडाउँछयौ प्रलोभिनी ! यो इविनिङ्पेरिस्! अपूर्वकी कला बनी दिई जगत्मा लात के ? खसाल्न गर्तमा सिक्यौ प्रलुब्ध पूँजीपातके ? ए काम वारिवाहकी निवासिनी सुदामिनी ! गिराई वज्र ज्योतिको, बिलाउँछयौ निरुत्तरा ? छुँदै लिएर प्राण के ? हराउँछयौ विनाडर ? ए सृष्टि वारि–वर्षिणी ! ए नागिनी ! ए दंशिनी ! प्रहासिनी ! ए पाशिनी ! ए सृष्टि–माउ ! सृष्टिकी प्रभक्षिणी, अभागिनी ! पुजूँ कि पाद ?–प्रभास्त्री ! हिलाऊँ प्राण–चामर ? सजूँ कि यशून्सुन्दर ? बजाऊँ भित्र घण्ट यो ? बजाऊँ पाठ ! कण्ठ यो ? रचूँ नयाँ जगत्म के ? असी र चार प्यारका तयार पारुँ व्यञ्जन ? अपार सद्य अज्मिए प्रवेश गर्दछयौ ? भन ! त्यजेर छद्य चाल यो, के सत्यरुप धर्दछयौ ? के कल्प, कल्प मातमा, म साथमा दुगुर्दछयौ ? ए पोथी शक्ति ! भूसुता ! लिएर जाल रेशमी सुवर्ण–मत्स्य–दिल कुनै, अमोलको, खगोलको, समुद्र–नीरबाट के शिकार्न शौक गर्दिनौ ? ए पाल ! तालमा त्यहाँ ! हिमाल–सानुका मनि ! खिलाउँदी, पिलाउँदी र प्यारले जिलाउँदी ! जो सत्यमा छ, सम्झ हे ! स्वधम्र्मको सदा विधि ! म क्रुद्ध हुन्छ ! ठान्दछयौ जगत्भरी चले मिशीन ? मिशीन मात्र चल्दछन्? अजीव छन् सबै ? सबै ? नज्यूँदछन् कुनै दिल, यहाँ तल ? बुझी, चल ! म हैन प्राणहीन हे ! म हुँ उत्ताल जिन्दगी ! म भावको हुँ आँकुरा ! म दिव्यजाल माकुरो ! म जान खोन्छु के ठगी ! चरी सँगी ? नशा हुँ अग्निको म ता ! म बाफ चक्षुनीरको प्रवाहमा यो श्वासको समीरको ! छुँदैन यी पुकारले , ए छोइयू ! धुने भएन आँशुले ? ए धोइयू ! परेर प्ररणा तिमी झिलिक्क पङ्ख फोइयू ! म सत्ते रोइरा’छु ए ! म आफु खोइरा’ छु ए ! ए सत्य रुपमा झर ! न फेरि लाञ्छना गर ! पचाउँछयौनि बूझ है ! तिमी मलाई ल्यौ सबै ! ए आत्मा ! आऊ ! स्वर्ग जाऊँ अन्भ, अन्भ, साथमा ! कुनै अपर्श उच्चता लिएर सद्य लौ सजूँ रङ्गीन अभ्र पातमा ! कूचो समाऊ रश्मिको ! बढार पूर्व आँगन ! म साथ शक्ति ! घोसल ! विचित्र अग्नि माँगन ! निहार बेलिफूलको टपक्क एक जीवन ! धु्रव–प्रदेशतारका अपारका निहारन ! जहाँ घुमेर साथमा अभेद्य ज्योति दम्पति, सँगाल्छ विश्वसम्पति ! विचार अङ्क एकको उदेक ए जहाँ दुई ! छ छाल, उछ्लिने अनन्त–आँतको भरी बोलाउँदै परस्परी ! महामरु प्रफुल्ल हुन्छ, सर्छ सृष्टिवल्लरी ! तिमीले मन्त्र यो शिके, “म अर्पिए सँधैभरि !” म अश्रुसिन्धु हुन्छु ए ! डुबी डुबी तिमी मर ! जिई वर ! छ प्यारको हिमालयी महाघर ! गजूरमा छ त्यो मजा ! अनन्तसौख्यको ध्वजा ! जहाँ तुषार प्यारमा उषा चढुन्शिंगारमा ! हारमा ! समाज आऊ लौ ! तरुँ ! बगाऊँ धार प्यारको ! किनारमा बसी रचूँ ! पुरीनयाँ अपारको ! घडाभरी छ, चन्द्रमा ! कलङ्क ध्वौ, बगी झर ! यहाँ पर ! के जिल्ल पर्दछयौ अरे ? म उच्च–बुद्धि–पागल ! भए त कालिका, छली ! विनाशदीप सक्कली ! ए मानिसै भए पनि मनुष्यको अरण्यमा मृतासमान एकली ! धराकलि ! मलाई चर्म देख्दछयौ ? कि नोटका ठूला बिटा ? न मर्म या निरख्दछयौ ? सुतेछ हाय ! देवता ! सकारिनौ त प्यार के ? ए ओर्ल ! छौ तयार के ? भयो, भयो, न दृक्तर ? क्षुधा, क्षुधा, रही मर ! तृषा, तृषा, सधैंभर ! डटेर झ्यालमा बस ! डढाऊ लौ बनारस अधर्मिणी ! हिंडे पर ! सलाम ! भो क्षमा गर ! बिगार्दछयौ मुहार के ? जगत् पखाल्न शक्दथ्यौ ! हिलो भर ! सडी मर !