क. उषा चढिन् रे सल्लो ! स्वर्गभयो आकाश उपल्लो ! त्यसको मछाया, ताल धरामा, तल्लो ! सुन्दरताले झस्केको, वायुमण्डल हाल्यो ! प्रतिस्पर्शले क्या बादल बल्लीे, फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो! ख. पन्छी–गाना उडाइन् तिनले । श्रवण भरीकन, फुलको कोभी आंखा भल्यो! के, के तिनले गाइरहिछन्? सृष्टि रसिलो, लाल सुरा भै, कसरी उछल्यो ! कसरी उछल्यो ! ग. आदिपुरुस ? औ प्रकृतिदेवी खेल्छन् जुहारी रङ्गमा ! सुनिरहेछु, स्वर्गकी बाला ! पर्वतमाला, मिरमिर पुराना, गुन्जिरहेछन् ढङ्ग, ढङ्गमा ! जन्मिरहेछन् दिवस जग‍त्‌को, चल्छ किरणको डल्लो! घ. अप्सराकी ए ! रानी ! तिमी, छवि–खानी ! देवदारुको ऊँचा उपवन, डुल्न आई, दिन्छयनै दर्शन ! स्फटिकमहलको द्धार उघारी, दिनदिन, पखमा मधुर बिहानी ! आनन्द जम्यो क्या ! मुटु डल्लो ! ङ. भेडा गोठाला बतासहरु छन्! राज्यमा तिम्रो काम छ ऊनको ? जलप छ सुनको ? मसिना सोनार ? चित्रकार ? मेषचारको कान्तिपुरीमा तिम्रो विहार ? भाषा रल्यो ! भाषा रल्यो ! च. मुसकानहरुमा संसार शुरु भो स्पर्शमा, प्राणको सञ्चार शुरु भो ! ज्योतिदानमा गुञ्जार शुरु भो ! सुमुखी ! गुँडको चरो यो भन्दछ नीड–हि छोडूँ कि ? उडूँ, उडूँमै डल्यो ! छ. शून्य रङ्गियो ! जगत् भङ्गियो ! अनङ्ग अङ्गियो, तल हेरी ! प्यार जन्मियो, सुन्दरताको, जनमन, जादू बेरी ! मूर्त देख्छु मुहूर्तमा यो ! कविता ? मेरी ? जीवन जल भो, कलकल्यो ! ज. ऊ ! ऊ ! बादल बल्लीमा लाग्यो दिनको चिचिल्लो ! सृष्टिदेवीको मुसकान —लाई हामी भन्छौ बिहान ! हे गौरी ! क्या ब्रीडासुन्दर मुखमा लाली उछल्यो ! झ. स्वर्ग र पृथिवी ओठ अरुणझै चुम्बन गर्छन्। मस्कन्छन्! मिठास पाई, स्मितिमा मनोहर लच्कन्छन्! भाव बनीगो चुली उपल्लो ! भाषा लागी बन्न रे खल्लो ! उषा चढिन्रे सल्लो !