छिः छिः जन्तु ! घीनलाग्दो तँ ! मैलो, रोगाहा, मगन्ता ! चिथ्रो कन्था ! भुस्याहा ! शण्ठ ! सिँगान कटकट, छाला चटचट धूलो लटपट ! नाली रट् ! किंकड ! शठ ! जा ! हावा गह्नायो मेरो वरिपरि ! दूर जा ! हट् ! नभए खान, ढुङ्गा चपा न ! या नालीमा गईकन हाम्फाल् ! झट् ! संसार केही हलुको होला, पैसा ? धत् ! हाइ हाइ मान्छे ! मेरो भाइ ! मेरो रगत ए ! मेरो मासु ! आ ! छातीमा एकबार टाँसूँ ! तेरो दशामा मानव आँशु ! हाय ! म तृप्त ! बेपर्वामा ? भाइ ! तँ भोको, पिपासु ? मेरो छानो ? तेरो आकाश ? मेरो प्राण ? र तेरो विश्वास ? मेरो आँखा, तिनमा चश्मा, तेरो प्रकृत दृग पनि भस्म ? तैँ न आफ्नो ? अरुको वशमा ? ओह रे संसार ? आह ! गति यो ? धन्य थिति यो ? मानिसप्रति के मानिस आफैँ मानिस छैन ? मानिस हुँदैन ? रात सधैँभर ? उज्यालो छैन ? मानव जाग्ला, दानव हुँदैन ! सडक किनारा मानव कोही रोइरहेछ, रोइरहेछ ! बहिरो दुनियाँ अन्धो गतिमा— सोइरहेछ, सोइरहेछ ! विभूति–ले तर पूर्व गगन यो ! छोइरहेछ, छोइरहेछ