क. कञ्चनजङ्घा लेक भरिभर ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर, आँग जोरी भेडा उँग्छन् दलका दल, पाठा, माउ सब, बादलका, निश्छल ! भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल मेषभूत, विभूति रङ्गका बादल ! निशिभर हावाघरका सुतेका बिउँझिन लागे पलपल ! ख. पहिले बिउँझ्यो निद्रित समीकरण, हल्ले निद्रित पत्रहरु, त्यक्त–तरु, फुत्त झरेका पँखेरु–उरले, उत्सुकतासँग हुर्रा धकेले, अलि गतिबाधा तर उच्चालक छालहरु । ग. विभा खुशीले भइन् उज्याली, मौन प्रतीक्षा भो बादल ! स्वर्णिम, उर्णिम जीवन, जागृति, परिणति पाउन, पर्खिरहेको जस्तो जल ! उषा–किरणका भक्तहरुको वाष्पिल आत्माको झैं जल ! दर्शनको मृदु भावस्फुरणका ध्यान–निद्रा बनेझैं सजल ! घ. छिक्र्यो गुलाफी क्षितिज किनारा, प्रथम उषाको लाली सरि ! पहिलो छिर्का लागी फुटेका, सृष्टिका कुड्मल–जाली सरि ! अथवा बिउँझिरहेको कविको मुटुका बुबुल्के प्याली सरि ! ङ. छिर्दै आयो भुवा, भुवामा, कवि–स्वपनाको धस्लीभरि ! साक्षात्कृता क्वै सुन्दरताको स्मितिको गुलाफी लचक सरि, खुल्दछ पूर्व किनारा लम्बिई, भू–सगरी ! च. सृजनधूलीमा रङ्ग छिरबिर भो ! स्रष्टा चल्थ्यो ! उसका हात चलेझैं लागी, आँखा घुमीकन लरबर भो ! छोएजति सब जिउँथ्यो, बल्थ्यो सुन्दरले सब, सुन्दर भो ! छ. कोही रँग्थ्यो तरलाकारी, भाव–भुवामा बल्दो क्षणको जल्दो रङ्ग । ज्वाला–तरङ्ग ! ज. सिँगार्न थाल्यो प्रकुति पुरुषले, शर्मी प्रकृति बन्थिन् दङ्ग ! ब्रीडा जन्मी जपाकुसुममा, उत्सव बोल्थे विहङ्ग ! झ. यस्तो रङ्गिएको आकाश ! हरेक ठाउँमा अद्भुतताले चुम्बित, होइन, सेता तपस्या–चूली उपर खुलेको स्वर्ग हि खास ? ञ. माला कहीं क्या विवाहोत्सवका ! क्या लच्के ! कहीं, परीहरु हातेमालो, नाची मनोहर, क्या मस्के ! स्वर्ग र पृथिवीको छ विवाह ! वाह ! इन्द्र आफैं ऐरावतमा क्या लस्के ! आए उ ! उ ! वनमाली ती, मुरली अधर ती, निस्के ! सजग चराचर रङ्गमा नाच्यो, मीठो सुर ली, मीठो सुर ली ! दिल उर्ली ! कलपुर्जा सब मेरा, चुम्बक अगाडि झस्के ! ट. मानव कल्पना भरखर बिउँझी, आँखा मिचेझैं, जिल्ल परी ! सारा प्रथम पुराणकथाका, आत्मा लागी बुभूmँ अलिकति चौकीवरी । वेद जन्मियो कमलपत्रमा उ त्यो कुनामा ! उ त्यो कुनामा ! ज्ञान वैरियो किरणहरु झै धन–तनमा उ ! आँसु–बुनामा ! शिवले गरल पिईकन तमको, उम्ल्यो अमृत ! उम्ल्यो अमृत ! यो के ? माया उपर परेको सत्चित्, सच्चित, ! आनन्द हो ए ! हयग्रीव छन् गाइरहेका काहीं, करलहरीमा, करलहरीमा ! चित्रकला छन् जन्मिरहेकी स्वर्गधुरीमा, स्वर्गधुरीमा ! सारा कलाको अभिनय देख्दछु अप्रत्याशित, यो अनमोल, जीवन घडीमा ! जीवन घडीमा ! ठ. कञ्चनजङ्घा कञ्चन भो, आयो हिरण्मय, आयो किरणमय ! अमृत बनाई सकल मरणमय ! मृत्युको एक छिन लाञ्छन् भो ! ड. तब देखें एक सेतो कचौरा हिउँको ! त्यसले अगणित युगभर पिएथ्यो, यस्तो मदिरा, यस्तो मदिरा, त्यसको आत्मासाथ मितेरी लाउन पाऊँ त एक छिनको ! प्रभात पागल भनीकन हेर्थे, आँखा चकित रे सब जनको ! ढ. फर्के ! फर्के, फर्की नजरले हेर्न, फर्की, फर्की, अद्भुत हिमाल ! दृश्य कमाल ! अद्भुतताको आदिम सदन त्यो, काञ्चनजङ्घा गिरिको भाल ! प्रकुति त्यहाँ छन् प्रदर्शिनीमा, कल्पनाका सब धन ली, नवसृष्टिधूलिका घन ली ! बाघचूली चढेकी देवी, त्रिभुवनसुन्दरी, बल्दी, जल्दी, देखें केही, सुने पनि केही, छाड्थ्यो शरीर यो एक छिन देही ! एक दर्शनमा ज्ञान अनन्त छ, एक वाणीमा वेद हजार ! धर्म यसै गरी जन्मे होलान्, साहित्य, कला, औं संसार !