क. ओखरको त्यो हाँगामाथि कुखुराहरुले कनिका चोर्दा, ब्रह्मवेला झुकी सोहोर्दा, दोसाँध हुँदामा दिनको जाति, मारी एक चरीले गोली, मीठो, तीखो, भनूँ के ? साथी ! मीठो, तीखो, भनूँ के ? साथी ! धोबिनीले पगली बोली ! ख. डोली डोली जब त्यो बोली ! खुल्न नसक्ने दुनियाँ खोली ! स्वपना, बिपनाको छ किनारा, भागिसकी छ साथ सुतेकी, प्यारी, वयसी, लजिली मेरी, मस्त सँगी पनि, सँभली सारा, निद्रा नाउँ, निशाकी डोली ! धोबिनीले पगली बोली ! ग. विचित्र हुन्छन् क्षणहरु कोही, बिपना मुस्की, सपना रोई ! त्यस क्षणमा क्या अमृत घोली ! बोधिसत्वले जाग्यो बोली ! त्यसका सुरमा किरण कराए, छोटा निशि–निर्वाण डराए, यस्तो सनातन स्वप्न छिचोली ! स्वर्गद्धारका कवुजा कराए ! प्रलयका सब सेना डराए ! विजयी दिनकर उक्ले चूली ! धोबिनीले पगली बोली ! घ. हिमाल कहलका मैला कपडा कूचो बढारिसकेकी उषाले फ्याँकिरहिथिन् झोला झोली ! धोए किरणहरुले कलिला रङ्ग अनेकन घोली, घोली, उम्लिसकेको भाँडो अडाई, उदय शिखरमा ढल्काएर जादू घोली ! धोबिनीले पगली बोली ! ङ. एक कुसुमले अङ्ग बटारिन् चट्ट अडीकन चदर सँभारिन्, सुनी सुनौला युगको बोली ! उनको मुटुको कचौराभित्र अडिरहेको बिन्दु पवित्र ढुल्क्यो मोती सरि अनमोली ! च. घन निद्राकको तकियामाथि सुतिरहेको मलाई साथी ! घच्काइदियो त्यो स्वरले छिचोली स्वप्नदेखिन् विउँझिरहेथेँ, झन् राम्रो क्या बिपना खोली ! प्रथम रश्मिले सेता हिमाली, मन्दिरचूड सुनौला, माछा ! पक्रिन आफ्नो जाली डाली ! पुराना मशीहाहरुका आत्मा, बोले जागी, “हेर ! यसैले धम्र्म निकाली !” प्रगतिरथका घोडा सुनिए, हिनहिन गर्दा उदयाचलमा याल अफाली ! जागृत दुनियाँ मैले देखें फालिरहेका दृगका जाली ! छ. अनुप्राणित भो देशाकाश ! शहीदहरुको रक्ताभास बोल्यो उसको सुरमा डोली ! “जीवन भन्नु यही, यही हो हाँसी खेल्नु जीवनहोली !” युगवाणीले आकाश ठटायो उड ती पङ्खका चाली टोली धोबिनीले जब त्यो बोली ! ज. आँशु हराए स्वर्ग भरीभर धप्क्यो कविको दिलझैं अम्बर ! अनन्त जस्तो सानो क्षणमा सुवर्ण ज्वाला पिएँ नयनमा, विजयी भो कवि अंशुमाली ! उषा आई स्वयंवर गर्छिन्, मेरै मेरै ! “ए तमोहर ! उषावाला तेरै, तेरै भर पर्छिन् !” भन्दै पगली कुर्लिन् थाली ! झ. आँखा पागल हेरन ! साथी ! विचित्र ज्योतिले आज समाती ! किरण गान क्या कानमा घोली ! धप्किरहेछु अकाय, म शुक्र, अब्रण कविझैं युग यो टटोली ! मुटु अब गाउँछ जीवन होली, तर्स मदेखिन्, पर सर केही ! आगो भयो अब नाङ्गो देही ! बोल्छु फिलिङ्गो, हेर्दछु ज्वाला, के भो ! के भो ! आज मलाई सुगन्ध निस्क्यो माटो खोली ! त्यसका सुर, सुर भिजे नशामा पगली जब त्यो, ओखर हाँगा बीचका बोली ! आज म भावी युगको गीत बोलिरहेछु, ती सुर बटुली धाकी चोली ? धोबिनीले पगली बोली !