क. पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ! चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छवासमा, उक्लन्छौं कहिले, लच्कन्छौं कहिलेखका् प्रयासमा, गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा । ख. सुन ए पन्छी ! नकराऊ चींचीं आशाले उक्ल पङ्खलाई सींची, बोल सधैं रे आशाका चूँचूँ, ज्याति नभेटे राख रे छूँछूँ, शिवजीले पिए गरलको भय, संसार–मन्थनमा अँध्यारा गए, कृष्णले अमृत–चुलीलाई दुहे, चार दिशा नुहाई उज्याला भए, सत्ययुगका कथा ऋषिले कहे, यस्तो छ हुँदो, यस्तै छ हुने, रात यौटा पिउँछ, प्रातः यौटा दुहुने आजको बिहान उड्नु छ हाम्लाई उडानको विश्वासमा शून्यको छाती चिरेर होहो ! ज्योतिको निकासमा पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा । ग. बचेरालाई पङखको पत्यार दिलाउन उठ्छौं पूर्वको उत्तर, चुलीका भज्दै फिलिङ्गा सुन्दर, संसारभन्दा माथिका मन्दिर, यस दिनका आकाशमा, स्वर्ग र धरा गानाले डोर्न, स्वर्गको आगो जातिलाई चोर्न उडानको सीमा हिजोका फार्न बिउँझाउँदो बतासमा, “कनिको भन्दा उपरको धावा क्या मीठो हुन्छ,” भनेर “बाबा ।” वेद पुराणहरुका दावा राख्नलाई विश्वासमा, पङ्खको फरफर पङ्खलाई तान्छ, उमार्ने ्पङख ज्योतिको थान छ, धर्मको यात्रामा मर्मको कान छ, विजयैभित्र विजयको शान छ,फर्कन्नौं हताशमा । बादल च्यारच्यार, शून्यलाई घ्यारघ्यार उडानको मिठासमा, कलाका वारी चुलबुली चाली ज्योतिको आभासमा, फरफर फुँफुँ ज्योतिको बन्धन हृदय–आकाशमा, कृष्णझैं हुँहुँ शङ्करझैं पिऊँ पिऊँ गरल विनाशमा ! पिलाऊँ पहिलो कृष्णको सिर्को हिउँको प्रकाशमा, उडानको ध्येय उडानै भनी उँचाइको उल्लासमा, पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ।