१ यौटा वृक्ष ठूलो खडा छ म अघी, बाक्लो छ फैलावट यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा मेरा धेर उमङ्ग भिन्न रंगका चल्दो हवामा उडे फैलिन्छन् यसका जरा हृदयमा, हाँगाभरी फूल छन् । २ ओभाई पसिना म गर्दछु कुरा प्यारो पुरानोसँग मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग भिन्न भिन्न बिना कुनै शब्दले हाम्रो समालाप छ भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा। ३ यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी नाच्दी छन् पृथिवी अनेक ऋतुको पर्दा गिरी खुल्दछ छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् । ४ टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन् यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा।। ५ माटोभित्र जरा छ जाल गहिरो प्यूँछन् धराको रस माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भावझैँ सुन्दर माटैभित्र जरा छ हामिहरुको फुल्छौं उँचाई लिई हामीभित्र वसन्तका पवनका खूश्बू र सौन्दर्य छ। ६ केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी ... वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसमा भावना। ७ यस्का पात बिचारमैं बहुल छन्, वैलाउँछन्, आउँछन् झर्छन्,, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । ८ यस्को स्थान छ आफनो, छ त्यसमै यस्को सबै कोसिस त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्मै छ वैलाउनु यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व,, सौन्दर्य छ आफ्ना ठाउँ र भाग आफुकन छन्, आफ्नै जुदा जीवन । ९ यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा लाखौं पात, बनौट सुन्दर थिए त्यो बीजमा टम्म नै फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप यो रङ्गमा आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ १० फेरी बीज पलाउँछन्, रुख नयाँ हाँस्छन् सुसेल्छन् पछि फेरी पंछि नवीन गाउँछ नयाँ गाना बिराना अरू नाच्छिन् ई पृथिवी शशी र रविको फेरी उही तालमा फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा । ............................................................... शारदा, २।५,, श्रावण १९९३