क. आकाश ! तँ लुकी पालिरहेछस्आफू खाने केवल अँध्यारो ! ए चोरीको ए रे अँध्यारो ! बिक्रीको, हुँडारहरुको उल्लूहरुको षड्यन्त्रीको दुःस्वप्नीको, निशाचरको, निर्भीकताको साम्राज्य ! ठुक्री, टुक्री, टुक्री जा फुस्री, धुस्री, बिलाई जा जा खण्डहरको बाटो ! जल् बल् अभिशापित हे ! ले, सल्की, मेरा मूक वेदनाका आज्य ! ख. म सुतेको मानिस हुँ, जीविततातिर बेहोश ! म लुटेको मानिस हुँ धनी र वञ्चित, निर्दोष ! हत्याराहरु भागिरहेछन् छायाहरुका आड लिई म हतमानव सक्तिनँ बोल्न बोल्ला नियति काँढ लिई ! ग. उम्ली ! छड्की ! बेहोशीको कालो कराही ! उम्ली ! मानव, सुत्दछ मर्दैन रात सधैं पर पर्दैन सारा रङ्गका दुःख मिलीकन मिसिएको कालो ग,्रङ कालको झैं रोगन बन्दछ, अचेतताको निष्पट अङ्ग ! यो युगको हो सन्नाटा, निशाऽभिध यो सूनसान आत्महत्या गरेर उठ्ली पोखरी आफ्नो मुटुको रुधिर यो, अर्पी आखिर अहार्य नीतिमा आफ्नो प्राण ! घ. एउटा चरो छ नेपाली आफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली, एक टाकुरा कहीं छ हिमाली जसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली । ङ हाहा ! सुतुवा हो सारा, दुःख दर्दका अबोल चरुहरु सकल साँपका पेटारा, दैन्य, निराशा, लाचारी अज्ञान, पराजय सारा– यही कराही कालोमा उन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा।