क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल ! मौरी गुनगुन खग चञ्चल ! स्नायु चपल औ मुटु खलबल ! पहिला बत्ती यसरी बलेथे सृष्टिको आदि मिरमिरमा, प्रथम लहरको फिरफिरमा ! शिवले पट्टल खोल्ने काल ! गौरी लाली लिन्छ हिमाल ! उर्वशीको प्रथम झलकमा विक्रमको झैं मुटु डल्लो, घाउ बनीकन सूर्य अडेको, टक्क छ, हेरन, अस्ताचलको चुली उपल्लो ! मुनिकी आत्मा पुतली नाच्छे, मुक्त बनी, स्वर्ग भनी, यो अवनी ! अमृत–धनी ! कुरकुर लाग्दछ ढुक्कुरलाई, बोल्दछ सार, संसार सबैको केशर–प्यार ! हामीहरु सब आलुबखडाहरुको लच्के हाँगाहरुको सेता ढोकाभित्र पस्यौं बोल्दा मुनाका कथा जगतेमा परीहरुसँग साथ बस्यौं । सुगन्ध–कणी क्या बोकिरहेछन् लहर–लहर ! दिलको कोभी फुकी–फुकी आउँछ, छरबर पार्न बास्ना–भुँवर !