आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल पत्रे बुट्टा रजत–तहमा पर्छ कल्सिन्छ छाल । मुस्किन् विद्युत् वरुणदुहिता साँवली कोमलाभा गोरा डाँडा विचरन चुली उल्किई, देखिंदामा । फर्फर पार्छिन् चदर हलुका, लत्रिंदो, मेघ ह्वैन, लाखौं मोती—लुङ नपहिरी चित्त बुझ्ने हुँदैन । पोल्टो झोली रतन—निधिका स्नेहले मुस्कुराइन्, यौटा मोती—लुङ चुँडिन गै शैलमा झर्झराइन् । नाच्दी, कुद्दी, हरष उछली, यानमै आजलाई आएकी ती तुहिन–कलिली पार्वती भेट्नलाई, गाँऊ भन्छिन् जगत् छहरी स्वर्गको दिव्य तान, ठाडा बन्छन् श्रवण कविका शीतलो सुन्न गान । आशङ्काले भुरभुर गुँडै सम्झिंदा पङ्ख नाना जाओ बच्चाहरु नतरसून् गर्जिदा स्वर्ग–छाना, लर्बर् गर्दा कुशल कमिला ! लौ गरे हे हतार, तेसै ओर्ली चिर चकँरिंदो चील ! होला अबेर । तस्वीरै झैं अलि छिन उडी वायुले पक्ष फेर्दा, सन्नाटामा तरुवरहरु ! उक्लिंदो खात हेर्दा, पर्खी बस्थ्यो पवन पहिलो सुन्न फर्मान दूर तिम्रा राजा सलिलनिधिका ! लौ सुने यो नुहेर ! “लाखौं मूरी रतन–जलका वायु मैले उचालें, पारावार प्रभुहृदयका उच्च आदेश पालें, बाफीला ती रजत घटका चारु बान्की उचालें, वर्षी बोकी वरणदुहिता पार्वती भेट्न थालें । “लेखें मैले जलदपटमा अक्षराकार धेर, इच्छा छारा प्रभु वरुणको, वर्षको यो सवेर, हाँगा, लच्की, लहर लहरी, खातिई, पत्रिएर बोल्दा छन् ती अमिट सुरमा कान थापेर हेर । “तानाशाही दिनकर भए, सुन्छु यस्तो फिराद, मेरो छाती जल, जल छ ! ती सन्किएछन् फसाद ! दण्डी दिन्छु स्थगन रविको राजको होस् धरामा, शून्याभासी कुछ दिन बनून्, दुःख भो उर्वरामा । “बच्चा ! दुःखी ! हिम अचलका पङ्ख ! प्राणी ! प्रशाख ! तिम्रा भेजा मम हृदयका रत्न छन् लेउ लाख ! लामा छाया सजल घनका लाख तिम्रा सियाल ! रङ्गीचङ्गी धनु विजयको, दैन्य सारा पखाल । “धूली खोला सलिल, वरर्षी शानजस्तो अटूट, पाई प्राणी अमृत–लहरी फस्टिनेछन् अछूट, दौरामा छन् जलधि–दुहिता, साम्य कारुण्यभाव, फैली चाँडो मुख अवनिको, हुन्छ, आनन्द–लूट । “पृथ्वी फल्लिन् सलिल–कलिली धानले छापिएर गाई रोप्लान् चपलवयसी, दृक्–बिजुली लिएर । बाली राम्रो, तृण अति हरा, वर्ष राम्रो कबूली पारावार प्रभु–हृदयको फुट्छ सङ्गीत केली । “मीठा, मीठा अमृत रसका बिज्जुले लाख, लाखा भर्दै राम्रा फल तरुहरु पाउँछन् भन्न, ‘चाख’ । भारी शाखा शरदऋतुमा लच्किंदा दानलाई, मेरो इच्छा यति छ, यति हो नील आदेश, भाइ ! “लौ लौ गाओ दल दल वनै, वृक्ष हो ऊठ सारा, बर्षे घैंटा घट घट गरी स्वर्ग–पीयूष धारा । दर् दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले, उफ्री, नाची चल विटप हो, पाउनेटौ जराले, “यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड, यो गानाको गगन, जनको कल्पनाको बहाड, यो पौडीको सुखजलधिमा फूल रातो असारे झन्डा सम्झी, मुजुर–मन भै पिच्छमा रङ्गधारे ।”