आँसु खसाली रोइरहेथेँ जीवन-वनको बीच, खोजी खोजी कतै तपाई मेरा मनको चीज । टुटे फुटेको आशामाथि नयन दुःखीका नीर ! कहाँ कहाँको, कता कताको, मेरो मनको पीर ! लालसाले मोहिनीको रुप गरी धारण, बोली, गहना झलकाई “रुन्छौ तिमी कुन कारण ! विलासको यो महल मनोहर, हुन्छु म तिम्री रानी ।“ मैले बोलें, “हुन्छ सबै यो भोलि धुलो र खरानी ।“ कुबेर बोले, “नोकरि लेऊ दिन्छु म दौलत अनगिन्ती, मेरो सेवक हेर उज्याला, सेज सुनौला झुल्छन् ती !” मैले बोले, “धनका मालिक ! संझन्छु धनको मोल, अन्तस्करणको स्वतन्त्रता यो तर छ अहा ! अनमोल ।“ ताज सुनौला माथ लगाई यश आई फुसलायो, “मेरो पछि आऊ भाइ ! मौका सुन्दर आयो ! छाँट काँटमा मिलिकन आऊ, परिचित गर्छु तिमीलाई ।“ मैले बोले, “चिथरा लाउँछु, ठग्दछु सत्य म भाइ ।“ शक्ति प्रियाले आई बोलिन्, “दिन्छु म मीठा मेवा ।“ मैले बोले, “मेरो अमृत मानिसहरुको सेवा ।“ योगी बोले, “चढाऊ समाधि खुलछ तिमीकन स्वर्गद्वार ।“ मैले बोले, “हेर्नु छ मैले भाइहरुको घरबार ।“ बोले इन्द्र, “छ सुरपुर सुन्दर झिलिमिलि मेरो दरबार ।“ मैले बोले, “बाल्नु छ बत्ती अझ छ अँध्यारो संसार ।“ दुःखले बोल्यो, “काँढा बिझ्ला ?” मैले बोलें, “फुल्ला फुल ।“ शंका बोली, “फुल नफल्ला ?” मैले बोले, “स्वस्थ छ मूल ।“ जीवन बोल्यो, “सगर छ भीषण ।“ मैले बोले, “गदगद वीर ।“ कठिनाईले बोली, “पहाड छ ।“ बोले, “छुन्छ कि स्वर्गै शिर ?” धर्म बोले, “कुन मन्दिरमा पूजा गर्छौ, आऊ ।“ मैले बोले, “वीरहरुको वलिदान भएको ठाउँ ।“ सहानुभूतिले संकरुण बोलिन् “तब किन रुन्छौ भाइ ?” मैले बोले, “समय छ छोटो, स्वा गर्न मलाई ।“ “दोस्त कहाँ छन् ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?” जान्छौ कुन पुर भवन मुशाफिर ? ल्यायौ कुन सन्देश ?” “दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस देश, विश्व सबै घर हृदय पुरीतिर ल्याउँछु सेवा-सन्देश ।“ (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)