हामी सन्तति हौं अगाध जलका ग्रीष्मर्तुको जन्म हो, हाम्रो जन्म हुँदा महोत्सव थियो, सारा उज्यालो सफा, हाँस्थे सूर्य र छालमा उछलिंदा टल्पल् गरी नाच्तथे, टाढासम्म हावा निमन्त्रित थिए, चल्थे बडा तेजले। हाम्रो व्योमविहारको मन थियो, ऊँचा थियो कामना, हामी सुस्त चढ्यौं सफा किरणका साना मसीना सिंढी। माथी-माथि चढ्यौं मिल्यौं र फिजियौं आकाशको क्षेत्रमा बोकी चल्छ हवा डुलाउन जगत् डाँडा, पुरी, जङ्गल। हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको, डाँडा र मैदानको खाल्डा, खोंच हिमालका र वनका नङ्गा र उद्यानका। नाला निर्मल नागबेलि जलका ती निर्झरी, झाडिका झुत्रा झोपडिका सफा सदनका प्रासादका, वीथिका।