क. थलथल माछो नृसिंह जाग्छ ! वानस्पत अणु मङ्गल माग्छ ! बानर एउटा चन्द्रमा ताक्छ ! अहो ! मलाई ताजूब लाग्छ ! ख. मृतकणी औ किरणको शादी, थियो अगाडि ! एक प्यारको स्पन्दन जाग्छ ! कस्तो त्यसको सन्तति अगणित, दुनियाँ ढाक्छ ! माछो, कछुवा, वराह, वामन ! इतिहास लाग्छ ! अहो ! मलाई ताजूब लाग्छ ! ग. कोही अदुभुत मिरमिर सिँढीमा ढीलो सुस्त, चढिरहेको जस्तो लाग्छ ! अस्ति आजको अन्तर देखी, चमत्कार नै निहुरी भाग्छ ! भोलि कल्पन हुन्छ असम्भव, क्षितिज किनारा पर, पर लाग्छ ! अहो ! मलाई ताजूब लाग्छ ! घ. अङ्ग पल्हायो, अङ्ग बिलायो ! छैटौँ इन्द्रिय यसको क्या हो ? किरणकणीले आत्मा बेह्री मासुरङ्गको, पृथिवीको क्या ! पोशाक लगायो ! जल, थल, नभको विजयी बन्न मन्त्रदान के यसले पायो ? कालकर नै पक्री गिज्यायो ! मृत्यु छिचोली हेर्ने ताक छ ! अहो ! मलाई ताजूब लाग्छ ! ङ. आफ्नै वेगले हार, गुहारमा, पुच्छ्रे तारो यो आकाश–किनारमा ! परमाणु फुटाई आफ्नै, निभ्छ कि ? आफ्नै किरणले, आफ्नै घरमा ? राम बालक छ, रावण जाग्छ, कैलाश हिलाई शक्ति नै माग्छ ! कसले जित्दछ ? कसले राज्छ ? यस लङ्कामा भीषण भाग छ ! अहो ! मलाई ताजूब लाग्छ ! च. खण्डहरहरुको सपना देख्दछु ! माकुरोको जेहेनी जाली ! कमिला गजबका शहर बनाउँछन्, प्रबन्ध निकाली ! भीर पुगेका बस्तु देख्दछु, कोही डाक्छ ! तर्सी उठ्दछु झट्ट कहाली ! सातो भाग्छ अहो ! मलाई ताजूब लाग्छ ! छ. कुन होला त्यो, तारा–जङ्गल —फूलको धागो, जसले गाँस्छ ! रातभर कहिले सुत्दिन, साथी ! त्यो धागोको छेउ भेट्टाई, तानूँ तानूँ जस्तो लाग्छ ! मुटुभन्दा झन् गिदी पो दगु¥यो ! यसमा अभाग छ ! मन्त्रले आँधी हान्ने ढुक्कुर, पक्रूँ भन्दा किन पर भाग्छ ! खलबल मन भो, निद्रा नलाग्छ ! शङ्का, आशा किन यति जाग्छ ? अहो ! मलाई ताजूब लाग्छ ? ज. चन्द्रमाले यो जाति माथि डाक्छ ? मङ्गलमा के नव आबादी यसको लाग्छ ? बन्ला हृदय कि ? सीमा नाघ्छ ? अहो ! मलाई ताजूब लाग्छ !